नेविसंघ म्याग्दीले शनिबार विजयादशमी तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लामा पार्टीलाई विजय बनाउन सक्रिय हुन गर्वुजाले निर्देशन दिए ।

‘विद्यार्थीले पनि आफ्नो क्षेत्रमा योजना बनाएर जानुपर्छ । स्थानीय तहका कांग्रेस पहिलो जस्तै प्रदेश र प्रतिनिधि सभामा पनि हुनुपर्छ’उनले भने । चियापान कार्यक्रमको अवसरमा नेपाली कांग्रेसका सचिव क्याप्टेन मिन बहादुर कार्की, नेता नेत्र बहादुर महत, जिल्ला कार्यसमिति सदस्य माधव प्रसाद रेग्मी, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदी, महिला संघकी अध्यक्ष बिमला गौचन, नेता अजय मिलन श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेविसंघ भित्र देखिएको विवादलाई तत्काल अन्त्य गर्न समेत सुझाव नेताहरुले सचेत बनाएका थिए । कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष एकेन्द्र महतको अध्यक्षता, नेपाल विद्यार्थी संघका कार्यसमिति सदस्य सुजन बरुवालले स्वागत र सचिव चक्र केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा करिव १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैविच कार्यक्रममा अनेरास्ववियू म्याग्दीका राम गोतामे नेविसंघमा प्रवेश गरेका छन् ।

जिल्लामै नेविसंघको दुई गुट
एकेन्द्र महतले कार्यवाहक अध्यक्षको रुपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गरिरहेको अवस्थामा कार्यबाहक अध्यक्षको हैसियत पाएका निर्मल खत्रीको समुह कार्यक्रममा सहभागि भएन । पार्टीका जिल्ला सभापति सहित कांग्रेसका सबै भात्रृ संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा कार्यवाहक अध्यक्षको हैसियतामा महत सहभागि हुनु र जिल्लाका नेतृत्वले समेत स्वीकार गर्नुलाई निकै चासो पूर्वक हेरिएको छ ।२०६९ को माघमा १५ र १६मा सम्पन्न ११ औं अधिवेशनबाट विक्रम बोगटीलाई ३५ मतले हराउँदै भरतवहादुर रकाल जिल्ला अध्यक्ष भएका भरत रकाल समेत कार्यक्रममा देखिएनन् ।

रकाल निकट मानिएका खत्री समुहले विना जानकारी कार्यक्रम गरिएको असन्तुष्ट जनाएको छ । रकाल ११ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको पदमा उम्मेदवारी दिएपछि विधान अनुसार स्वत पदमुक्त हुने भएपनि उनीसंगै जिल्ला अधिवेशनमा निर्वाचित भएका उपाध्यक्ष महतलाई केन्द्रिय समितिले कार्यवाहकको जिम्मेवारी प्रदान गरिएपनि एउटा समुहले अस्वीकार गरेपछि विवाद चुलिएको थियो । अध्यक्षको अनुपस्थितीमा उपाध्यक्षले जिम्मेबारी पाउने प्रावधान भएपनि आफुलाई काम गर्ने वातावरण नबनाइएको महतको दावी छ ।

उता खत्रीले कार्यवाहकको पत्र प्राप्त भएपछि संघका गतिविधिलाई प्रभावकारी रुपमा अगाडी बढाइरहेको दावी गरेका छन् । नेविसंघका म्याग्दी क्याम्पस इकाई सभापति एवम् सक्रिय नेता समेत रहेका खत्रीले कार्यवाहक अध्यक्षको रुपमा स्थानीय तहको निर्वाचन आसपासमा ४५ सदस्यीय समानान्तर जिल्ला समिति गठन गरेका थिए । निर्वाचनको नजिक कुनैपनि विवाद नगरी दुवै समुह निर्वाचनका खटिएपनि अहिले विवाद सुरु भएको छ ।