हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक विगत अझै सुचारु हुन सकेको छैन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभिरमा सडकभन्दा माथीबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो 

गत बुधबार दिउँसो अविरल बर्षाले अवरुद्ध भएको सडकको ठुलो चट्टान पन्छाउन विष्फोटक पर्दाथको प्रयोग गरिएपनि शनिबार सञ्चालनमा ल्याउने प्रयास असफल भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बेनीअनलाइीनलाई बताउनुभयो ।उहाँका अनुसार विष्फोटक पर्दाथ चट्टान हटाउन सफल भएपनि माथीबाट पुनः पहिरो खसेपछि साँझ मर्मतको कार्य रोकिएको छ ।

आइतबार विहानै देखी मर्मतको कार्य सुरु हुनेछ । आइतबार दिउँसो सडक सञ्चालनमा आउने सम्भावना रहेको समेत कालीगण्डकी करिडोरका सुपरभाइजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । काभ्रेभिरमा माथीबाट खसेको सुख्खा पहिरोले करिब ५० मिटर सडक पुरेपछि अवरुद्ध बनेको थियो ।

तीनदिन सम्म बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरलगायत ४ ओटा मेशिन प्रयोग गरिएपनि असफल भएपछि नारच्याङमा रहेका श्री बक्स गुल्मबाट नेपाली सेनाको टोलीले पहिरो नजिक रहेका ठुला चट्टानलाई विष्फोटक पर्दाथको प्रयोग गरेर पन्छाएका थिए ।

बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनी श्रद्धा गर्न पुगेका सोह्रश्रद्धाका तीर्थयात्री, मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तथा फर्कंदै गरेका दर्शनार्थी, पर्यटक, कर्मचारी, सर्वसाधारण, यात्रुलगायतलाई आवतजावत गर्न समस्या भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडकको अवरुद्ध पन्छाउन आवश्यक सबै बल प्रयोग गरिएको बताउनुभयो।

सडक अवरुद्ध भएर यातायात बन्द भएपछि सर्वसाधारणले वैकल्पिक पदमार्गमार्फत जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।बुधबार देखी बेनीदेखि छुटेका सवारीसाधन दानामा र मुस्ताङको जोमसोमबाट छुटेका सवारीहरु घाँसामै रोकिएका छन् । सीधा यातायात बन्द भएपछि मुस्ताङको स्याउ ढुवानी र दशैंका लागि मुस्ताङ र डोल्पाबाट खरिद गरेर ल्याइएका भेडाच्याङ्ग्रालाई समेत सडक पार गराउन समस्या भएको व्यापारीहरुले गुनासो गरेका छन् ।

दशैंका लागि बजारमा पुर्याउनुपर्ने भेडाच्याङ्ग्रा र स्याउ बाटोमै अलपत्र परेपछि ब्यापारीलाई समेत नोक्सानी भएको छ । सडक फराकिलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडकमा सीधा यातायातको अवरुद्ध हुदाँ सयौं यात्रु अलपत्र अवस्थामा छन् । सडकखण्ड अन्र्तरगत काभ्रेभीर निकै जोखिमपूर्ण मानिन्छ ।