म्याग्दीको सदरमुकाम बेनीमा आइतबार परिवर्तित सन्दर्भमा सामाजिक संघसंस्थाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व बडादशैं, शुभदिपावली, छठपर्व र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदानसहित अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा र सिबिन नेपाल म्याग्दीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले गैसस संघसंस्थाहरुले जिल्लाको विविध क्षेत्रमा सामाजिक जागरणको काम गर्दै आइरहेको बताए । उनले स्थानीय तहमा क्रियाशिल गैससहरुले आफ्नो कार्यक्षेत्र, कार्यक्रम र गतिविधिहरुको विषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराउनुपर्ने बताउँदै कार्यक्रम सञ्चालन गर्दा सरोकारवाला निकायसँग समन्वय गर्न सुझाव दिएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले गैरसरकारी संघसंस्थाले कार्यक्रम गर्दा अनुभूति हुनेगरी सञ्चालन गर्नुपर्ने बताउँदै समाजको आर्थिक रुपान्तरण र सामाजिक क्षेत्रमा परिवर्तन गर्ने खालका गतिविधिहरुमा केन्द्रीत गरिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले अब श्रृङ्गारिक सहभागिताको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसमा गैरसरकारी संघसंस्थाको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

उनले गैसस संघसंस्थाले जिल्लाको शिक्षा, स्वास्थ्य, राजनीति लगायतका क्षेत्रलाई घच्घच्याउनुपर्ने बताउँदै समाजमा पछाडि परेका वर्गलाई न्याय दिलाउन क्रियाशिल रहनुपर्ने बताएका थिए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले अझै पनि जिल्लाको ग्रामीण क्षेत्रमा सचेतना हुन नसकेको भन्दै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताएका थिए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै जिल्लामा एक्कासी उडेर आउने र विना जानकारी कार्यक्रम गर्ने गैससहरुलाई नियमन गर्नुपर्ने बताएका छन् ।  गैसस अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष दीपक पौडेलको सञ्चालन र सिविन नेपाल म्याग्दीका कार्यक्रम संयोजक प्रेम सोङमेनको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।