प्रहरीको चाडपर्वमा विशेष योजना

0
232

चाडपर्वमा समाजमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर विशेष योजना बनाएको म्याग्दी प्रहरीले जनाएको छ । आइतबार प्रहरी कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीसँग भेटघाट गरी नेपालीहरुको महान् पर्व बडादशैं तथा शुभदिपावली लगायतका चाडपर्वहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले सम्भावित घटनाको न्युनीकरण गर्न विशेष योजना बनाएको जानकारी गराइएको हो ।

पत्रकार भेटघाटमा म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले यसपाली चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको बताइन् । उनले चाडपर्वमा बढी घटनाहरु घट्ने हुँदा बजार आसपास क्षेत्रमा प्रहरीको गस्ती बढाउने, सादा पोसाकमा प्रहरी परिचालन, शहर बजारका होटलहरुमा बास बस्नेहरुको रेकर्ड राख्न लगाउने जस्ता कार्यहरुलाई जोड दिएको बताएकी छिन् । चाडपर्वमा बढी मेला हुने ग्रामीण क्षेत्रमा अपराधी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरिएको उनको भनाई छ ।

यसैगरी प्रनाउ खड्काले आफू प्रहरी प्रमुखका रुपमा म्याग्दी आएको ७ महिना भैसकेको जानकारी दिँदै सो अवधिमा सञ्चालन गरिएका गतिविधिहरुको पनि जानकारी दिएकी छिन् । उनले खासगरी जिल्लाका विभिन्न स्थानमा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत लागूऔषध दुव्र्यसनी न्युनीकरणको कक्षा सञ्चालन गरिएको बताइन् । यसैगरी मानव बेचबिखन, अपराध न्युनीकरण, मानव अधिकार जस्ता विभिन्न विषयहरुमा विद्यार्थीमार्फत समाजमा सचेतना फैलियोस् भनेर ती कार्यक्रमहरु गरिएको उनले बताएकी छिन् ।

त्यस्तै गएको साउन २९ गतेदेखि हालसम्म जिल्लाका ग्रामीण क्षेत्रमा आयोजना गरिएका विभिन्न १४ ओटा मेला तथा पर्वमा प्रहरी खटिएको प्रनाउ खड्काको भनाई छ । उनका अनुसार चालु वर्षको साउनदेखि अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका २४ थान मुद्दा दर्ता भएको र प्रतिवादी ४१ जनालाई पक्राउ गरिएको छ । यस्तै जबरजस्ती करणी गरेकोमा संलग्न एकजना भने फरार रहेको बताइएको छ । सो अवधिमा ४४ ओटा मिलापत्र गरिएको छ भने मादक पदार्थ सेवनमा ६ जना पक्राउ परेका छन् । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न किसिमका ९ सय ७९ ओटा सवारीसाधनहरुलाई कार्वाह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैबीच प्रहरीले आफ्नो कामकार्वाहीमा केही चुनौतीहरु रहेको जानकारी दिएको छ । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रमा गोप्य रुपमा जुवातास खेलाउने जस्ता गैरकानुनी क्रियाकलाप हुने गरेकोमा पहिला समातिदिनुप¥यो भनेर प्रहरीमा खबर आउने र मानिस पक्राउ गरी ल्याएर आएपछि छुटाइदिनुप¥यो भनेर चर्को रुपमा दवाव आउने गरेको प्रनाउ खड्काले खुलासा गरेकी छिन् । त्यसैगरी जिल्लामा चोरी, डकैती, लुटपाट, अनियमित भाडा असुल्ने, ओभरलोड लगायतका थुप्रै घटनाहरु प्रहरीका सामु चुनौतीका रुपमा रहेका छन् ।

प्रहरीले विभिन्न किसिमका समाधानका उपायहरु समेत गर्ने गरेको जनाएको छ । नियमित रुपमा प्रहरीको गस्ती बढाउने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, विद्यालयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गाउँगाउँमा नागरिक सचेतनासम्बन्धी कार्यक्रम गर्ने जस्ता कार्यक्रमहरु गरेको प्रहरीले बताएको छ । यस्तै भावी कार्यक्रमका रुपमा आसन्न प्रदेश र केन्द्रीय चुनावको सुरक्षा तयारी, सङ्घीय संरचनामा प्रहरीका इकाई स्थापना, बढ्दो सुरक्षा चुनौतीलाई न्युन गर्न विशेष योजनालगायतका कामहरु अगाडि बढाइने जनाइएको छ ।