म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित मासु पसलमा दुर्गन्ध फैलिएको मासु विक्री भइरहेको भेटिएको छ । पटक पटकको अनुगमनमा मापदण्ड र स्वच्छ मासु विक्री गर्ने प्रतिबद्धता जनाएका मासु ब्यवसायीले न्युनतम मापदण्ड समेत पुरा नगरेको अवस्थामा फेला परेका छन् । बेनी नगरपालिकाको अगुवाईमा सोमबार सहायक प्रमुख जिल्ला अधिकारी यादव नाथ आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा अधिकांस मासु पसल फोहोरी र दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको थियो ।

अनुगमन टोलीले तयार गरेको २२ वटा मापदण्डमा ७ वटा पनि पुरा नभएका मासु पसल भेटिएको सहायक प्रजिअ आचार्यले बताए । ‘खुद्रा पसलमा पनि मासु बेचिरहेको भेटियो,तत्काल नसुध्रिए कडा कारवाही गर्ने चेतावनी दिएका छौ’ उनले भने ।

अनुगमनको क्रममा विना दर्ता सञ्चालन भएको, पसलमा राखिएका फ्रिजमा दुर्गन्ध फैलिएको मासु, खुल्ला ठाउँमा राखेर विक्री, मासु विक्रेताको हातमा पञ्जा, मुखमा माक्स, मापदण्ड अनुसारको उपकरणको प्रयोग नभएको, मासु राख्ने फ्रिजमा धुँलो, कुखुरा काट्ने बेलामा प्रयोग गरिएका हतियार जिर्ण, मासु पसलमै पशुको बध, मरेको कुखुरा लुकाइराखेको र सडकबाट नजिक रहेका मासुपसलमा तारबार, सिसा नहुदाँ धुलो मासुमा पुगेको, पशुपंक्षीको श्रोत खुल्ने कुनैपनि कागजात नभेटिएको उनले बताए ।

उनले केही दिनमा नसुध्रिए पसल बन्द गरिने चेतावनी समेत दिए । बेच्न फ्रिजमा राखिएको मासु समेत कुहिएको अवस्थामा भेटिएको थियो । त्यस्तै मासु नजिक फोहोर समेत भेटिनुका साथै पसल आसपासमा कुखुराको फर्म समेत अनुगमन टोलीले फेला पारेको थियो ।

अनुगमन टोलीमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. मन बहादुर पुन, बेनपा–७ र ८ का वडा अध्यक्षद्धय राजेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्य, बेनी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत युक्त प्रसाद पौडेल लगाएतको उपस्थितीमा गरिएको अनुगमनमा १२ वटा फोहोरी मासु पसललाई सुधारका लागि एक हप्ताको समय दिइएको थियो ।

बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले समेत पटकपटक अनुरोध गर्दा समेत बेवास्था गर्ने गरिएको बताउँदै एकहप्ता भित्र निर्देशन अनुसार काम नभए प्रहरीको सहयोगमा बन्द गरिन बेनीको बैंकरोड, इन्द्रणीटोल, संगमचोक, क्याम्पसचोक, न्युरोड,अस्पताल चोक गरी करिव १७ वटा मासु पसलको अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने मासु विक्री भइरहेको भेटिएको थियो । यसैविच अनुगनमको क्रममा पन्थी डेरीको बेनीमा ४२ पोका दुध समेत नष्ट गरिएको छ ।