जिल्लामा सूचिकृत स्वास्थ्य चौकीमा पुगेर गर्भपतन सेवा लिनको संख्या बढ्न थालेको तथ्याङ्क सार्वजनिक भएको छ । सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा असुरक्षित गर्भपतन गर्दा विभिन्न समस्या देखिएपछि नेपाल सरकारबाट सूचिकृत स्वास्थ्य संस्थामा पुगेर सेवा लिनको संख्या एक हजारभन्दा धेरै रहेको बताइएको थियो । बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ सहित १४ वटा सुचिकृत स्वास्थ्यबाट नियमित सेवा उपलब्ध गराउने गरिएको बताइएको थियो ।

बेनी अस्पतला र आइपास नेपालको आयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा महिलाको सामाजिक, आर्थिक,उमेर,जातीय परिवेशक नगरी सेवा दिईने, महिलाको सम्पूर्ण गोपनीयता राखिने, सुरक्षित गर्भपतन सेवा लिन आएका महिलालाई परिवार नियोजन,अन्य आवश्यक प्रजनन् स्वास्थ्य सेवा र परार्मशदिइने भएकाले पनि सुचिकृत स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाटै सेवा उपलब्ध लिन जानेको संख्या बढेको बेनी अस्पतालकी मेडिकल अधिकृत डा. अनुजा रेग्मीले बताउनुभयो ।

उहाँले घरभित्रको प्रसुती सेवा मुक्त घोषणा कार्यक्रम सहित विभिन्न जनचेतनामुलक कार्यक्रमले समेत सहज भएको बताउँदै ग्रामिण क्षेत्रमा सूचिकृत संस्थामा समेत प्रयाप्त उपकरणहरु समेत रहेकाले पनि सेवाग्राहीलाई सहज भएको बताउनुभयो ।

कार्यक्रममा असुरक्षित गर्भपतनको क्रममा बढी रगत बग्ने, पाठेघरमा संक्रमण हुने,पाठेघरमा असर गरेपछि पाठेघर नै निकाल्नुपर्ने, बाँझोपन लगाएतका धेरै समस्याहरू देखिएको समेत बताइएको थियो । जिल्लामा आर्थिक बर्ष ०७१÷७२ मा ११ सय ५६, ०७२÷७३ मा १२ सय ८१ र गत आर्थिक बर्ष ०७३÷७४ मा ११९४ जनाले सूचिकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गरेको तथ्याङ्कले देखाउँछ ।एकै महिना सबैभन्दा धेरै १३३ जनाले गर्भपतन गरेको तथ्याङ्क समेत सार्वजनिक गरिएको थियो।

ग्रामिण क्षेत्रमा छोटो अवधीको परिवार नियोजनको सुई प्रयोग गर्ने ४२ प्रतिशत, औषधीको प्रयोग २० प्रतिशत, कन्डमको प्रयोग गर्ने २२ प्रतिशत, उपकरण र महिला स्वास्थ्य स्वयंमसेविकाको पहलमा १६ प्रतिशत रहेको समेत बताइएको थियो ।
कलिलै उमेरमा असुरक्षित यौनसम्पर्क गरेका यूवतीहरुले औषधी पसलबाट औषधी प्रयोग गर्ने गरेको समेत भेटिएकाले पनि गतबर्ष २९ जना जटिल अवस्थामा सूचिकृत स्वास्थ्य संस्थामा पुगेको बेनी नगरपालिकाकी स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

जिल्लामा आइपास नामक संस्थाले जिल्लामा आधुनिक सेवासंगै ग्रामिणस्तरमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ । आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई उपकरण, फर्निचर सहित आवश्यक समन्वय गर्ने गरेको बताईन् । सेवाको गुणस्तीयता सुधारका लागि २८ वटा सुचक तयार गरी हरेक सेवा केन्द्रमा प्रयोगमा ल्याइएको छ ।

जसमा सेवाग्राहीले नाम दर्ता नगरी सिधा सेवाप्रदायकबाट सेवा लिने, आर्थिक अभावका कारण सेवा लिनबाट बन्चित, महिलाले छनोट गरेको उपयुक्त विधिको प्रयोग, सुरक्षित गर्भपतन पछि सन्तुलित परार्मश उपलब्ध, गर्भपतन गरेका महिलालाई दुखाई कम गर्ने लगाएतका सुविधाहरु रहेका छन् । बेनी सहित जिल्लाभर रहेका २४ वटा बर्थिङ सेन्टरको सिफारिसमा औषध्रीको प्रयोग गरेर सुरक्षित गर्भपतन गर्ने केन्द्रमा नियमित छलफल र समस्याका बारेमा समेत जानकारी लिने गरिन्छ ।

अनिच्छिद गर्व १२ हप्ताभित्र सुचिकृत गर्भपतन केन्द्रमा गएर गराउन सकिने कानुनी प्रावधान रहेको छ । गर्भपतन गराउनेको परिचय गोप्य राखिन्छ । जिल्लामा प्रसुती सेवा लिई बच्चा जन्माउने र गर्भपतन गराउनेको संख्या बराबर देखिन्छ । दिवसको अवसरमा बेनी अस्पतलामा डा. विराट शर्मा, आइपास नेपालकी जिल्ला संयोजक उपमा बराल लगाएत स्वास्थ्यकर्मीले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सुरक्षित परियोजना अधिकृत नारायण प्रसाद रेग्मीले बताउनुभयो ।