काठमाण्डौमा बैकल्पिक राजनीतिक धार स्थापित गर्ने अभियानको घोषणा गरेको केही दिनमा म्याग्दीमा आइपुगेका देबेन्द्र पौडेलले माओवादी केन्द्रलाई म्याद गुज्रिएको औषधीको संज्ञा दिएका थिए ।

नयाँ शक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईको विश्वास पात्र समेत मानिने पौडेलले म्याग्दीमा माओवादी केन्द्रमा आवद्ध रहेकालाई विभाजन गरेर नयाँ शक्तीको गठन गर्ने तयारीमा कृष्ण गिरीलाई जिम्मा दिएर फर्किए ।छिमेकी जिल्ला बागलुङका पौडेलको प्रभाव म्याग्दीमा धेरै पर्ने अनुमान गरिएपनि माओवादी केन्द्रबाट केही यूवा र शिक्षकहरुको सहभागितामा नयाँ शक्ती नेपाल गठन भयो ।

डा. भट्टराईकै उपस्थितीमा समेत कार्यक्रम गरियो ।जिल्लामा नयाँ शक्तीलाई बैकिल्पक राजनीतिक धारबाट पहिलो स्थानमा ल्याउने अभियानको घोषणा समेत भयो । भुपेन्द्र बुढाथोकीको अध्यक्षतामा पार्टीको गठन गरेर संगठन विस्तार सहित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरियो । स्थानीय निर्वाचनमा समेत संघिय समाजवादी फोरम नेपालको चुनाव चिन्हमा बेनी नगरपालिकाको मेयर, रघुगंगा गाउँपालिकाको प्रमुख लगाएतका पदमा उम्मेदवारी समेत दिएर नयाँ शक्तीबाट चुनावी प्रचारप्रसारका गतिविधि समेत भए ।

यूवाहरुको सक्रियतामा स्थापना भएको पार्टीको केन्द्रीय अभियान नै प्रभावकारी नदेखिएपनि आफ्नै ब्यक्तिगत खर्चमा रघुगंगा गाउँपालिकाको प्रमुखमा इन्द्र मगरले प्रचारप्रसार सहितका गतिविधिहरु समेत सञ्चालन गरे । ब्यक्तिगत खर्चमा पार्टीका गतिविधिहरु पार्टी स्थापना भएदेखी गरिएपनि नतिजाबाट नयाँ शक्तीमा संलग्नहरु सन्तुष्ट थिए । स्थानीय तहको निर्वाचन लगत्तै नयाँ शक्तीमा धुब्रिकरण सुरु भयो । केन्द्रबाट सुरु भएको धु्रविकरणको असर जिल्लातह समेत देखिन थाल्यो ।

जिल्लामा नयाँ शक्ति पार्टी म्याग्दीका अध्यक्ष भुपेन्द्र बुढाथोकी, केन्द्रिय परिषद सदस्य कृष्ण गिरी सहितको टोलीको नाम समेत माओवादीमा समाहित हुनेमा समावेश भएपछि चर्चा चलेको थियो । पार्टीबाट धमाधम नेताहरु माओवादी केन्द्रमा फर्कन थालेपछि नयाँ शक्ती पार्टीका जिल्लास्तरका नेताहरुले समेत पार्टीभित्र ब्यापक छलफल गरी धुब्रिकरणमा अभियानमा सहभागिता जनाए ।

नयाँ शक्तीलाई माओवादी केन्द्रमा समाहित गर्ने अभियानमा केन्द्रिय सचिवालय सदस्य देबेन्द्र पौडेल र बलावती शर्माले गरेको स्रोतको भनाई छ । दुवैजनाले नयाँ शक्तीको उदेश्यहिन यात्राबाट भविस्यमा दुख पाउन सकिने अवस्था रहेकाले जनयूद्ध र जनताको अभियानमा सहभागिता जनाउने पुरानै पार्टीमा समाहित हुनुपर्ने बताएपछि जिल्ला नेतृत्वलाई समेत दवाव परेको थियो ।

राजनीतिमा सुन्य उपस्थितीको त्रासले समेत नयाँ शक्तीका अभियान्तालाई छोएको देखिन्छ । मंगलबार भएको कार्यक्रममा माओवादी केन्द्रमा समाहित भएको घोषणा संगै अव संगठन विस्तार सहितका अभियानलाई तिब्रता दिने तयारीमा समेत पार्टी जुटेको छ । पार्टी प्रवेशको अवसरमा बोल्दै नयाँ शक्तीका जिल्ला अध्यक्ष बुढाथोकीले मुलुकमा दशबर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत र मुलुकको समग्र विकासको लागि परिवर्तनकारी शक्तिहरुबिच एकता गरिएको बताए ।

उनले जनयुद्धका बाँकी कार्यभार विभाजनबाट सम्भव नहुने भएकाले माओवादी लगायत परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने सन्देशका लागि माओवादी केन्द्रमा आफुहरु एकता गरेर अगाडी बढेको समेत बताए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन राष्ट्रिय जनस्वयमसेवक संगठनका जिल्ला संयोजक खिम बहादुर पुनले समेत माओवादीमा प्रवेश गरे । जनस्वयमसेवक संगठनका संयोजक पुनको प्रवेशलाई समेत भावी दिनमा हुन सक्ने धुव्रिकरणलाई बुझ्न सजिलो हुने माओवादीका जानकारहरु बताउँछन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचन, देवेन्द्र पौडेल, बलावती शर्मा, जिल्ला ईन्चार्ज मानबहादुर बुढा, जिल्ला संयोजक गोविन्द पौडेल लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र तथा स्वतन्त्र रुपमा उम्मेदवार बनेर बिजयी जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा रहँदा जिललको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डाक्टर मिनबहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।