म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी कोटभण्डार मन्दिरमा फुलपाती भित्र्याइयो छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको आज सप्तमीका दिन कोट मन्दिरमा फुलपाती भित्र्याइयो हो । बेनीबजार र नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फूलपाती बेनीको कोट मन्दिरमा भित्र्याइएको छ ।

कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुजा गरेर फुर्से र बोकाको बली दिई कोटमा फुलपाती भित्र्याइएको छ । हिन्दुधर्म, संस्कृति र परम्परा अनुसार पुजाआजा गरी फुलपाती भित्र्याइएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ । फुलपाती भित्र्याइएको क्रममा नेपाली सेनाले तोप पड्काउनुका साथै सलामी अर्पण गरेका थिए ।

विधि र प्रक्रिया अनुसरा पुजाआजा गरेर प्रसाद सहित फुलपाती भित्राएको अवलोकन गर्न आएकालाई टिका लगाइएको थियो । उक्त अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले भजनकिर्तन गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाली सेनाका श्री बक्स गुल्मपति अनिल बुढाथोकी, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुका साथै स्थानीय संघसंस्थाबाट समेत सहभागिता रहेको थियो ।

कोटभण्डार टोलवासीले कोटको लिपपोत र सङ्गमचोकवासीले फुलपाती बढाइँको लिपपोत र सरसफाई समेत गरेका थिए। यसैगरी शनिबारै म्याग्दी जिल्लाका विभिन्न गाउँगाउँमा रहेका कोट मन्दिरहरुमा पनि फुलपाती भित्र्याइएको छ।

बेनी नगरपालिका अन्तर्गत घतान कोट, पुलाचौर कोट, चिप्लेटीको निशानकोट, गाजनेको डढेकोट, ज्यामरुकको खड्गभवानीकोट तथा ताकमको ताकम कोट लगायतका दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधि अनुसार पूजाअर्चना गरी फुलपाती भित्र्याइएको स्थानीय वासीले बताएका छन् ।