यस्ता छन् एमाले म्याग्दीको २८औं पूर्ण वैठकका निर्णय

0
192

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको मङ्गलबार शहिद स्मृति भवनमा २८औं वैठक सम्पन्न भएको छ । सरकारले घोषणा गरेको आसन्न प्रदेश र केन्द्रीय संघको निर्वाचनलाई लक्षित गरेर आयोजित वैठकमा विभिन्न निर्णयहरु गरिएको एमाले म्याग्दीले जनाएको छ ।

वैठकमा एमालेले पार्टी केन्द्रीय कमिटीको निर्देशनअनुसार प्रदेश क्षेत्रीय समन्वय कमिटीअन्तर्गत क्षेत्र नम्बर १ को संयोजकमा सन्तोष रावल र २ मा शंकर शेरचनलाई जिम्मेवारी तोकिएको बताइएको छ । आसन्न प्रदेश र संघको निर्वाचनलाई लक्षित गरी स्थानीय तहमा भेला तथा वैठकहरु सम्पन्न गर्न जिम्मेवारी पनि तोकिएको एमालेले जानकारी दिएको छ ।

प्रदेश २ को क्षेत्रीय भेला यही असोज २० गते दरबाङ र १ को २१ गते बेनीमा गर्ने निर्णय गरिएको सचिव बालकृष्ण सुवेदीले बताएका छन् । त्यस्तै जिल्ला कमिटीको वैठक असोज २३ र २४ गते गर्ने उनले बताए । निर्वाचनकेन्द्रीत कार्यक्रमका लागि मंगला गाउँपालिकामा पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सांसद नरदेवी पुन रहेका छन् ।

मालिकामा एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापा, सांसद नवराज शर्मा, तथा पार्टी जिल्ला उपसचिव देवबहादुर घले र सचिवालय सदस्य मोतिराज गौतमलाई खटाइने भएको छ । धौलागिरिमा पार्टी उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिवालय सदस्य देउप्रसाद छन्त्याल रहेका छन्भने रघुगंगा गाउँपालिकामा प्रदेश सदस्य मुना बानियाँ, पार्टी जिल्ला सचिव बालकृष्ण सुवेदी, विद्यार्थी इन्चार्ज दीपक बिखर्ची रहेको एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसीले जानकारी दिए ।

त्यसैगरी युवा संघ परिचालनमा जिल्ला सदस्य कृष्णकुमार विश्वकर्मा अनेमसंघमा सचिवालय सदस्य थमसरा पुन, जिफन्टमा गोपाल रिजाल, किसान महासंघमा देवबहादुर घले, मुक्ति समाजमा जगबहादुर किसान, अनेरास्ववियुमा दिपक बिखर्ची, सुरत केसी र भूपू सैनिकमा रत्न विक रहेका छन् । जिम्मेवारी अनुसार तोकिएका भेला आगामी ३० गतेभित्र गरिसक्न एमालेले निर्देशन दिएको छ ।

यसैबीच आसन्न प्रदेश र संघको निर्वाचनका लागि आकाङ्क्षी उम्मेदवारहरुले जिल्ला पदाधिकारी, प्रदेश सदस्य, केन्द्रीय सदस्य तथा पदाधिकारी र सांसदहरुको बिचमा अनौपचारिक रुपमा सर्वसहमतिका लागि छलफल गर्ने निर्णय वैठकमा भएको सचिव सुवेदीको भनाई छ । त्यस्तै पार्टीको जिल्ला सदस्य टेकबहादुर भण्डारी निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको भन्दै एमालेले दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।