नेपाली कांग्रेस म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको सुचीमा आफ्नो नाम राख्ने होडबाजी चलेको छ । दुईदिन सम्म बेनीमा भएको छलफल तथा उम्मेदवारको टुंगो लगाउने बैठकमा क्षेत्र नम्बर १ र २ बाट उम्मेदवारका लागी दावी गरेका छन् । पार्टी स्रोतले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार उम्मेदवारको नाम धेरै भएपछि उम्मेदवारको टंगो अगाम्री असोज १७ गते लगाउने निर्णय समेत भएको छ ।

हरेक निर्वाचनमा अपेक्षा गरे भन्दा धेरै आकांक्षी देखिने गरेपछि पार्टीमा सक्रियता, जिम्मेबारी अनुसारको कार्यसम्पादन र लोकप्रियता लगाएतलाई समेत आधार बनाइएको छ । उम्मेदवारले आर्थिक सहयोग गर्नुपर्छ भन्ने हल्ला समेत चलेपनि पार्टीको चुनावी अभियान ब्यवस्थापनका लागि उम्मेदवारबाट निश्चित सहयोग समेत दिने प्रावधान समेत रहेको पार्टी निकट स्रोतको भनाई छ । हालसम्मको चर्चा अनुसार प्रतिनिधि सभा सदस्यका सांसद रेशम बहादुर बानियाँ र पार्टी सभापति खम्बीर गर्बुजाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । पार्टीको आन्तरिक छलफलमा दुवैजनाले सहकार्य र सहमतिलाई प्राथमिकता दिएका छन् । प्रतिनिधि सभामा दुईजना मध्ये एकजनाको नाम निश्चित गर्न पार्टीका नेता तथा कार्यकर्ताले समेत दवाव दिएको बुझिएको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ विमल गौचन र मोहन छन्त्यालको नाम चर्चामा छ । प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा क्षेत्र नं. १ पार्टी केबी भण्डारी, माधव प्रसाद रेग्मी, नेत्र बहादुर महत, क्याप्टेन मीन बहादुर कार्की, ओम छन्त्याल, मुकुन्द छन्त्याल, अमृतदेवी बानियाँ, भरत रकाल, दिल बहादुर बरुवाल लगाएतका नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

त्यस्तै क्षेत्र नं. २ मा दिल बहादुर क्षेत्री, तम बहादुर थापा, क्याप्टेन अमलाल फगामी, पुस्कर पुन, गोर्कण भण्डारीको नााम प्रत्यक्ष तर्फ चर्चामा रहेको छ । नेपाली कांग्रेसका जनप्रतिनिधिहरुको सहितको टोलीको दरबाङमा भएको छलफल तथा निर्णयमा तम बहादुर थापा र क्याप्टेन अमलाल फगामीमध्ये एकजनालाई प्रत्यक्षको उम्मेदवार बनाउन पार्टीमा लिखित निर्णय समेत पेश भइसकेको छ ।

१ भन्दा २ तुलनात्मक रुपमा चुनौतीपूर्ण भएकाले पनि पार्टीले लोकप्रियता र विपक्षीको मत समेत आफ्नो पक्षमा पार्न सक्ने गरी उम्मेदवार टुंगो लगाउन पार्टीलाई दवाव परेको छ । अन्य समयमा पार्टीका गतिविधिमा कम सक्रियता देखाउने र टिकटका बेलामा चासो र सक्रियता देखाउनेलाई यसपटक अवसर नदिने संकेत पार्टी सभापति खम्बीर गर्बुजाले दिएका छन्।

उम्मेदवारको सम्भावना के हुन सक्छ ?
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम लामो भएपनि म्याग्दीमा आगामी बैठकले कुनैपनि हालतमा उम्मेदवार टुंगो लगाउने तयारीमा जुटेपछि कांग्रेसका नेताकार्यकर्तामा सम्भावित उम्मेदरबारको नामका बारेमा चर्चा सुरु भएको छ ।

दोस्रो संविधान सभामा जम्बो टोलीको सिफारिस गरिएपनि जिल्ला र केन्द्रले सक्रियता र निर्वाचनमा जित्न सक्ने आधारहरुलाई मध्यनजर गरेर उम्मेदवार टुंगो लगाएको अवस्था यसपटक पनि चर्चा धेरैको भएपनि सांसद रेशम बहादुर बानियाँ, सभापति खम्बीर गर्बुजाको नाम सहमतिबाटै टुंगो लगाउने तयारी भइरहेको छ । स्थानीय तहको निर्वाचनमा म्याग्दीमा पहिलो शक्ती भएको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशमा समेत आफ्नो पकट जमाउने गरी उम्मेदवार टुंगो लगाउने सोच बनाएको बुझिएको छ ।

प्रतिनिधि सभा र क्षेत्र नम्बर १ बाट सांसद बनेर प्रदेश मन्त्रीसम्मको लाइनलाई समेत हेर्ने हो भने सांसद बानियाँ र गर्बुजा मध्ये एकजनाको नाम टुंगो लाग्ने छ । तर अहिलेसम्म दुवैले प्रतिनिधिसभा सदस्यमा आफ्नो अडान कायमै राखेका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा क्याप्टेन अमलाल फगामी, तम बहादुर थापाको नाम चर्चामा आएपनि जिल्लाका कुनैपनि नेताहरु चुनावमा लड्न सक्ने भएकाले पनि अन्य नेताहरुको समेत नाम चर्चामा छ ।

कार्यकर्ता माझ लोकप्रिय, अन्य दलका मतदातालाई समेत आर्कषित गर्न सक्ने उम्मेदवारलाई रोज्ने सम्भावना पनि छ । अर्को कुरा स्थानीय तहको निर्वाचनमा पार्टीले तालमेल गरेका उम्मेदवारलाई असहयोग गरेका र चुनावी अभियानमा समेत सक्रियता नदेखाएका नेताहरुलाई उम्मेदवार बनाउँदा क्षती हुनसक्ने भन्दै लोकप्रियता र भविस्यमा समेत काम गर्न सक्ने उम्मेदवारलाई सिफारिस गर्न नेतृत्वमा दवाव परेको छ ।