यस्तो छ नेकपा एमालेबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदारको चर्चा

0
206

संगठन विस्तार, अभियान र बैठकमा ब्यस्त रहेको नेकपा एमाले म्याग्दीमा समेत आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको चर्चा सुरू भएको छ । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा आयोजित भेला र बैठकमा ब्यस्त रहेका नेताहरूको नाम सहित सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

शुक्रबार पदाधिकारीको बैठक बस्ने तयारी गरेको नेकपा एमालेका नेताहरुले आधिकारिक धारणा सार्वजनिक नगरेपनि जिल्लामा आफ्नो उम्मेदवारीको चर्चा सुरु गर्न थालेपछि एमालेमा पनि उम्मेदवार ब्यवस्थापनमा हम्मेहम्मे पर्ने निश्चित छ । शुक्रबारको बैठकमा बडा दशैको कारणले उपस्थितिलाई समेत आधार बनाएर दशैंको भोलीपल्ट बस्ने तयारी भइरहेको पार्टीको बैठकमा उम्मेदवारको चर्चा सुरु हुने छ । स्रोतका अनुसार प्रतिनिधिसभा सदस्यमा अहिलेका सांसदद्धय नवराज शर्मा, नरदेवी पुन, बैकल्पिक केन्द्रिय सदस्य एवम् म्याग्दी इन्र्जाज भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुबेदीको नाम चर्चामा रहेको छ ।

त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ थममायाँ थापाको चर्चा छ । जिल्लाका गतिविधिमा कम देखिएपनि अखिल नेपाल महिला संघकी महासचिव तथा पार्टीका अध्यक्ष केपी ओली निकट भएकाले पनि थममायँ थापाको नाम समानुपातिक तर्फ १ नम्बरमा सिफारिस गरिने छ । त्यस्तै प्रदेशसभा सदस्य तर्फ क्षेत्र नं १ मा  यूवा नेता सन्तोष रावल, गोविन्द सुबेदी,शिक्षक संगठनका रामप्रसाद सुबेदी, महिला नेतृ मुना बानियाँ, यूवा नेता कृष्ण बहादुर विश्वकर्मा लगाएतको नाम चर्चामा छ ।

स्थानीय तहमा उम्मेदवारी बन्नबाट बन्चित भएकाहरुले समेत प्रदेशसभा सदस्यमा दावी प्रस्तुत गरेको पार्टी स्रोतको भनाई छ। बेनी नगरपालिकाको उपमेयरमा पार्टीको तर्फबाट चर्चा भएपनि अन्तिममा नाम समावेश नभएकी मुना बानियाँलाई १ नम्बर क्षेत्रबाट समानुपातिक तर्फ सिफारिसको बलियो आधार भएको समेत पार्टी स्रोतले जनाएको छ ।

प्रदेश नम्बर २ मा सांसद नरदेवी पुनको नाम धेरै चर्चामा छ । त्यस्तै याम गर्बुजा, बलभद्र ढकाल, देउप्रसाद छन्त्याल, मोतिराज गौतम, रेशम भण्डारी, धन बहादुर गुरुङको नाम बजारमा चर्चामा आउन थालेको छ । २ नम्बरमा म्याग्दीबाट काठमाण्डौमा बस्ने एमालेका नेताहरुले धेरै दावी गरेका छन् । एकपटक सांसद भएकालाई अव अवसर दिनुहुन्छ र अर्को क्षेत्रबाट समेत उम्मेदवारी बनाउन नहुने उम्मेदवारका आकांक्षीले जिल्ला नेतृत्वलाई दवाव समेत दिएका छन् ।

उम्मेदवारको दावेदारी प्रस्तुत गरेका बलभद्र ढकालले प्रचारप्रसार समेत सुरु गरेका छन् । उनले केहीदिन अगाडी आफ्नो क्षेत्रमा पुगेर भावी योजना समेत कार्यकर्तारुलाई सुनाएको बुझिएको छ। त्यस्तै उनले एक अनलाइनबाट समेत आफ्नो पार्टीको सदस्यता लिए देखिको विवरण समेत सार्वजनिक गरेका छन् ।

एमालेका उम्मेदवारलाई अनुकुल मानिएको क्षेत्र नम्बर २ मा उम्मेदवार ब्यवस्थापनमा निकै हम्मेहम्मे पर्ने निश्चित छ । केन्द्रबाट स्थानीय तहको निर्वाचनमा पराजित भएका र केन्द्रमा नाम सिफरिस गरिएकाहरुको नाम प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारमा नराख्न निर्देशन दिएपनि महिलाको हकमा भने केही नरम भएकाले पनि उम्मेदवारको सुचीमा परेका महिलालाई दावी गर्न सजिलो भएको छ । त्यस्तै प्रत्यक्षमा उम्मेदवारी बन्नबाट बन्चित भएकालाई समानुपातिकमा राखेर भएपनि अन्तिम समयमसम्म सहमतिको प्रयास हुने छ ।

कस्ता उम्मेदवार आउन सक्छन त ?
बेनीअनलाइनले एमाले म्याग्दीका केही नेताहरूसंग राखेको जिज्ञासा अनुसार म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा र अध्यक्ष हरिकृष्ण श्रेष्ठको नाम चर्चामा छ । दोस्रो संविधानसभा सदस्यको निर्वाचनका लागि आन्तरिक उम्मेदवारी छनौटमा पछाडी परेका थापा र श्रेष्ठलाई यसपटक अवसर दिनुपर्नेमा पार्टीभित्र चर्को आवाज उठेको छ । जिल्लाबाट अञ्चल हुदै केन्द्रसम्म आफ्नो पहुँच स्थापित गरेका थापालाई प्रतिनिधिसभा र अध्यक्षलाई क्षेत्र नम्बर १ मा उठाउँदा पार्टीलाई जित्न सहज हुने विश्लेषण गर्ने एमालेका नेताहरु समेत छन् ।

अर्को तर्फ प्रदेश भन्दा प्रतिनिधिसभामा उम्मेदवारी दिदाँ जिल्लाभरका कार्यकर्ताको मत प्राप्त हुने र जित्ने समेत सहज हुने भएकाले पनि थापा र श्रेष्ठको दावी अन्तिम समयसम्म रहने देखिन्छ । प्रतिनिधिसभा सदस्यमा दावी पेश गरेकाहरुले पार्टीले सहमति गरेमा प्रदेशसभा सदस्यमा समेत उम्मेदवारी बन्न तयार देखिएकाले पनि जिल्लाबाटै सहमतिमा प्रतिनिधि र प्रदेशका उम्मेदवार सिफारिस गरिएमा दु्रई मध्ये १ जनाको नाम प्रतिनिधिसभा सदस्यमा निश्चित जस्तै छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा आकांंक्षी धेरै भएकाले अन्तिममा पूर्व राज्यमन्त्री एवम् सांसद नरदेवीको नाम सिफारिस आंकाक्षीहरुलाई ब्यवस्थापन गर्ने सक्ने सम्भावना समेत रहेको छ । मंगला गाउँपालिका एमालेका लागि अनुकुल गाउँपालिका हो । त्यही गाउँपालिकाबाट २ नम्बरको उम्मेदवार मैदानमा आउने सम्भावना धेरै छ । जिल्लातहमा सहमति नभए प्रतिनिधि र प्रदेशमा १८ जनासम्मको नाम सिफारिस गर्न मिल्छ । धेरैको नाम सिफारिस गर्दा पार्टीको चुनावी अभियान भन्दा केन्द्रिय नेतामा आफ्नो नाम सिफारिस गर्न विन्ती गर्नेको लर्को लाग्ने भएकाले पनि अन्तिम समयसम्म सहमतिमा एमालेले दवालमुलक प्रयास गर्ने स्रोतको भनाई छ ।