बृद्धभत्ताको पखाईमा देविस्थानका बलबहादुर

0
174

म्याग्दीको मालिका गाउँपालिका–५(साविक देविस्थान गाविस–७मगरदाङ्ग) का ८१ बर्षिय बम बहादुर घर्तीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैंतिहार लगाएका विभिन्न चाडपर्वमा गाउँका बृद्धबृद्धाले राज्यले उपलब्ध गराएको भत्ताले घरखर्च, औषधी उपचार लगाएत ब्यक्तिगत खर्च गर्ने भएपनि उनले भने घरमा रहेका छोरा बुहारीले दिए खर्च गर्ने गरेका छन् ।

गत साउनमा बेनीअनलाइनले ८० बर्ष नाघेका बृद्ध सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएको खवर प्रकाशित गरेपछि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, गाउँपालिका र वडाले चासो देखाएपनि प्राविधिक समस्याका कारण उनको प्रक्रिया अगाडी बढेको छैन् ।

गाउँमा पुग्ने सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका नेताकार्यकर्तालाई समेत आफ्नो समस्या सुनाउने गरेका बलबहादुरका छोरा लामो समयसम्म ढोरपाटन आसपासको क्षेत्रमा भेडी गोठमा बस्ने भएकाले पनि प्रक्रियालाई अगाडी बढाउन समस्या भएको वडा अध्यक्ष पिपला बुढाले बताईन् । ‘मैले जानकारी पाएलगत्तै प्रयास गरेको छु । उहाँलाई भत्ता उपलब्ध गराउन निरन्तर सक्रियता देखाइरहेको छु‘ उनले भनिन् ।

दशैं मनाउन गाउँमा आएको छोरालाई समेत वडा अध्यक्षले भत्ताको लागि सक्रियता देखाउन अनुरोध गरेकी छन् । सरकारले उपलब्ध गराएको भत्ता बृद्धबृद्धालाई बरदान सावित हुने गरेको छ । परिवारका अन्य सदस्यबाट अपमानित, आवश्यकता अनुसारको सुविधा लिनबाट बन्चित हुने धेरै बृद्धबृद्धाले हरेक चौमासिकमा बुझ्ने बृद्धभत्ताबाटै दैनिकी चलाइरहेका छन् ।

केहीबर्ष अगाडी गाउँमै सचिव मार्फत भत्ता वितरणको क्रममा समेत पुग्ने गरेका बृद्ध घर्तीको नाम उल्लेख नभएको भन्दै रित्तो हात फर्काउने गरेका छन् । उनले भत्ताका लागि निरन्तर आफ्नो गुनासो पोख्ने गरेपनि समस्याको समाधान भएको थिएन् । बृद्ध रानाले भत्ता १ हजार र औषधी उपचार वापत मासिक दुई हजारको दरले बर्षमा २४ हजार भत्ता पाउने ब्यवस्था रहेको छ ।

ग्रामिण क्षेत्रमा सम्पत्तीमा आफ्नो पकट जमाउन, घर परिवार नभएको कारण तथा छिमेकी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बेवास्ता गर्दा बृद्धबृद्धा सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुने गरेका छन् ।

यता मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले वडास्तरमै बैङ्कका कर्मचारी सहितको उपस्थितीमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बताउँदै बृद्धको समस्यालाई केही महिना भित्र समाधान गरिने प्रतिबद्धता जनाए । उनले अहिलेसम्म नपाएपनि अव कानुनी प्रक्रियाबाट उनले सुविधा पाउने बताउँदै समाचारले थप सहज भएको बताए । जिल्लामा सामाजिक सुरक्षाभत्ताले बृद्धबृद्धालाई चाडपर्व खर्च ब्यवस्थापनमा सहज भएको छ ।