विदेशबाट फर्किएर फर्निचर उद्योग सञ्चालन

0
610

म्याग्दीको बेनी नगरपालिका–३ नम्बर वडा भकिम्लीका दुईजना युवाले विदेशबाट फर्किएर व्यावसायिक फर्निचर उद्योग सञ्चालन गरेका छन् । लाखौं रुपैयाँ खर्च गरेर विदेश गए पनि भनेजस्तो कमाई नभएपछि स्वदेश फर्किएर आफ्नै गाउँमा फर्निचर व्यवसाय स्थापना गरेका हुन् ।

भकिम्लीका युवा लालबहादुर पुन र रामबहादुर किसानले संयुक्त रुपमा लगानी गरी अन्नपूर्ण सामुदायिक फर्निचर उद्योग सञ्चालन गरेको बताए । २ वर्ष मलेसिया बसेका पुन र एकवर्ष बहराईन बसेर फर्केका किसानले सुरुमा चारलाख ५० हजार रुपैयाँबाट फर्निचर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । हाल उक्त फर्निचरमा १५ लाख रुपैयाँ लगानी गरेको फर्निचर सञ्चालक पुनले बताए ।

अन्नपूर्ण सामुदायिक फर्निचर उद्योगमा घर तथा पसलका लागि आवश्यक विभिन्न फर्निचरका आइटमहरु निर्माण गरिने उनको भनाई छ । फर्निचरबाट घर निर्माणमा प्रयोग हुने खापा, चौकोस, झ्यालढोका तथा कुर्सी, टेबल, दराज, पलङ, ¥याकलगायतका फर्निचरका सामाग्रीहरु बनाइने प्रोप्राइटर पुनले बताएका छन् ।

गाउँनजिकै सामुदायिक वनबाट काठ तथा मुढा खरिद गरेर ती सामानहरु निर्माण गरिने अन्नपूर्ण सामुदायिक फर्निचर उद्योगले जनाएको छ । वन जङ्गलमा पाइने सल्ला, उत्तीस, टुनी, सिर्मु, पैयुँ, कोपिले, भुङ जस्ता स्थानीय जातको काठ प्रयोगबाट फर्निचरका सामानहरु बनाउने गरिएको सञ्चालकद्वय बताउँछन् ।

उद्योगमा उत्पादित फर्निचरका सामानहरु बिक्री वितरणका लागि समस्या नभएको फर्निचरका प्रोप्राइटर समेत रहेका पुनले बताए । उनका अनुसार फर्निचर उद्योगमै ग्राहक सामान खरिद गर्न आउने हुँदा ग्राहकको माग, चाहना र अर्डर अनुसारका फर्निचरका आइटमहरु बनाइने गरिएको छ । युवाद्वयको उद्योगमा उत्पादन गरिएका सामान भकिम्ली, छिमेकी गाउँ बराङ्जा, भकुण्डे, सदरमुकाम बेनीबजार लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ ।

एउटा दराजको १५ हजार, साधारण पलङको १० हजारभन्दा बढी मुल्य पर्ने गरेको उनीहरुले बताएका छन् । यसैगरी किचन ¥याकको पाँचहजार ५००, साधारण खाटको चारहजार, सानो टेबुलको दुईहजार पाँचसय र झ्याल ढोकाको प्रति स्क्वायर फिटअनुसार २८० रुपैयाँ दरले बिक्री गर्ने गरिएको सञ्चालकद्वयले जानकारी दिए ।

उनीहरुले आफ्नो फर्निचरमा गाउँकै दुई जनालाई रोजगारी पनि दिएका छन्भने आफूहरुले फर्निचरका सबै आइटमहरु निर्माण गर्ने गरेको बताए । त्यस्तै वार्षिक झण्डै २५ लाख आम्दानी रहेको फर्निचरमा २० लाख रुपैयाँ खर्च हुने गरेको उनीहरुको अनुभव छ । मासिक रुपमा दुईलाख आम्दानी हुँदै आएको फर्निचर उद्योगमा डेढलाख रुपैयाँ खर्च रहेको बताइएको छ ।

फर्निचर उद्योग सञ्चालनका लागि कहिलेकाहीं आर्थिक समस्याका साथै समयमा काठ उपलब्ध नहुने, ढुवानी तथा यातायात जस्ता समस्याहरु आउने गरेको युवा पुनले अनुभव सुनाएका छन् । तर, पनि आफ्नै गाउँठाउँमा परिवारसँगै पेशा व्यवसाय सञ्चालन गर्दा धेरै फाइदा हुने र आनन्द आउने उनीहरु बताउँछन् । पछिल्लो समय पुन र किसान जस्तै म्याग्दी जिल्लामा अन्य युवाहरु पनि विदेशबाट फर्किएर विभिन्न पेशा एवं व्यवसायमा सक्रिय भएका छन् ।