हिन्दू सनातन धर्म भित्रका हरेक चाडपर्वहरुका आफ्नै महिमा एवं गहन आध्यात्मिक रहस्यहरु छन्। यि सबै पर्वहरुका आफ्ना छुट्टै पहिचान र गौरवमय परम्परा पनि छन्। यिनिहरुमा विजयादशमि अर्थात् बडा दशैंलाई धेरै महत्व र ठूलो उत्सवका साथ राष्ट्रिय पर्वको रुपमा मनाउने गरिन्छ। आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाको प्रारम्भसँगै मनाइने यस पर्वको प्रभाव कोजाग्रत पूर्णिमासम्म रहन्छ। यस अवसरमा चारैतिरको वातावरण सुरम्य, सुमधुर र रमणिक रहन्छ।

प्रकृतिले समेत यसबेला काँचुली फेरेको हुन्छ। हर व्यक्तिमा रहर, खुशी र प्रफुल्लताको भाव पाइन्छ। धार्मिक विधि–विधानका साथ मनाईने यस पर्वमा आफ्ना सम्मानित अग्रज, आफन्तबाट टिका, जमरा लगाउनुका साथै आशिर्वाद प्राप्त गर्ने परम्पराले पनि आपसी स्नेह, सद्भाव र शक्ति अभिवृद्धि भएको महसुस हुन्छ।

विजयादशमी एक पवित्र पर्व हो तापनि यस भित्रको गहन आध्यात्मिक रहस्यको यथार्थ बोध नहुनाले यसबेला निरिह पशुपंछिको मारकाट तथा बलि चढाउने कुसंस्कारको कारण आज यो पर्व केवल परम्परा कायम राख्नमा मात्र सिमित रहेको छ। वास्तवमा असत्यमाथि सत्यको, असुरत्वमाथि देवत्वको, तमोगुणमाथि सतोगुणको, रावणमाथि रामको विजयको रुपमा मनाइने विजया दशमी विशेष प्रतिकात्मक छ। विजया दशमी एक सर्वोत्तम र सर्वश्रेष्ठ पर्व हो। यसलाई दशहरा, दशैं, दशमी आदि कैयौं नामबाट सम्बोधन गरिन्छ, जुन दशको अङ्कसँग सम्बन्धित छ।

विशेषतः विजया दशमीलाई श्रीरामद्वारा दश टाउका भएको रावणको संहारसँग सम्बन्धित पर्व मान्ने हो भने नित्तान्तै यस कथनको गहन आध्यात्मिक रहस्यको बोध हुन जरुरी छ। नत्र यो पर्व केबल परम्परामा मात्र सिमित हुन्छ। के हो त यस पर्वसँग राम र रावणको आध्यात्मिक रहस्य?

रावण अर्थात् रुवाउने, जसले अरुलाई दुःख, कष्ट, पिडा दिएर रुवाउँछ। रावण अर्थात आसुरी शक्तिको प्रतिक, राक्षसी स्वभावको प्रतिक। आज संसारका हरेक मानिस दुःख, अशान्ति र चिन्ताको ज्वालामा जलिरहेका छन्। निराश, हतास र तनावले पीडीत भएका छन्। आजका मानिस जतिनै सम्पन्न, सभ्रान्त र सम्मानित छन् त्यति नै आन्तरिक रुपबाट असहाय, असुरक्षित र विपन्न बनेका छन्।

आजको संसारमा जोसँग सबैभन्दा बढी धन, सम्पत्ति र पूजीँ छ, त्यो त्यतिनै भयभित छ, जो जति सम्मानित छ ऊ त्यति नै अपमानित छ, संसारका हरेक व्यक्तिले स्वमान र स्वाभिमानलाई भूलेर देह–अभिमानी बन्न पुगेका छन्। मानव जातिमा नकारात्मक भाव फैलाई फुट (भेद) पैदा गर्ने कुनै महावैरी छ भने यही दुश्मन नै रावण हो। आज संसारभर रावणको एकछत्र राज्य छ।

रावणलाई दशानन् अर्थात् दश टाउका भएको मानिन्छ। वास्तवमा दश टाउका भएको मानवको जन्म त असम्भव नै छ तर रावणका दश टाउका प्रतिकात्मक वा आलंकारीक छन्। आज प्रत्येक प्रवृत्तिमा रहने नर(पूरुष) मा रहेका पाँच विकार काम, क्रोध, लोभ, मोह, अहंकार र नारी(महिलामा) रहेका यिनै पाँच विकारको प्रतिक नै रावणका दश टाउका देखार्ईएको हो।

आजका मानवको सबैभन्दा नजिकको दुश्मन कुनै छन् भने रावणले प्रतिनिधित्व गर्ने यिनै पञ्च महाविकार हुन्। यिनले नै संसारलाई दुःखधाम बनाएका छन्। रावण आधाकल्प(द्वापरयुग) देखिको मानव आत्माको ठूलो दूश्मन बन्दै आएको छ। असह्य पिडामा पिडीत आजका मानव दशहराको अवसरमा रावणको पुत्ला बनाएर जलाउने गर्दछन्।

रावण ठूलो विद्वान् थियो, शक्तिशाली थियो, धनवान थियो अनि ठूलो भक्त पनि थियो। उसँग बुद्वि, बल, अर्थ र भक्ति त थियो तर त्यतिकै दुःखी पनि थियो। त्यस्तै आजका मानिसहरु पनि बुद्विवान छन्, विद्यावान छन्, धनवान छन्, बलवान छन्, भक्ति पनि गर्छन् तर भौतिक बाह्य रुपले मात्र। आजको मानिसमा बुद्वि छ तर सद्बुद्वि छैन, विवेक छ तर सद्विवेक छैन, ज्ञान छ तर सद्ज्ञान छैन, विद्या छ तर सद्विद्या छैन। फलस्वरुप तेस्रो नेत्र, दिव्य चक्षु, दिव्य बुद्धि बन्द भएको छ, त्यसैले दुःखी भएका छन्।

विजया दशमी पर्वलाई जति महान र आदर्शको रुपमा लिइन्छ त्यति नै यस पर्वसँग सम्बन्धित केहि प्रथाहरुले गर्दा यसको महानतालाई घटाईदिएको छ। वर्तमान समय यो पर्व अति हिंसक र तामसिक बन्न पूगेको छ। यसबेला निरीह, निर्बल र निःसहाय पशु–पंछिहरुको निर्ममतापूर्वक अत्याधिक बलि चढाईन्छ। जति धैरै बली चढायो त्यति धेरै ईश्वर प्रशन्न हुन्छन् भन्ने नकारात्मक एवं घटिया मनस्थितिले अझै यस पर्वको विकृत रुप प्रदर्शित हुन्छ। कुनै प्राणिमात्रको बलीले इश्वरलाई खुशी पार्न खोज्नु त मुर्खता र अज्ञानताको पराकाष्ठा मात्र हो।

वास्तवमा भगवान(इश्वर) त प्रेमको भोको हुनुहुन्छ, कसैको प्राणको होइन। इश्वर वा देवि देवतालाई प्राणिको बली चढाउनु त घोर अन्धविश्वास हो। देवि माँ न त निरिह पशु–पंछिको बलि स्विकार गर्छिन् न त प्रशन्न नै हुन्छिन, न त वरदान नै दिन्छिन्।

कुनै लौकिक (शरिरको) आमाले पनि आफ्ना छोरा–छोरीको बलि स्विकार गर्दैनन् भने जगत जननी देवि माँ जसको सधैं सद्ज्ञान, सद्बुद्धि, सद्विवेकको उदय भएको छ, ती देविले बलि स्विकार गर्छिन्, प्रशन्न हुन्छिन्, वरदान दिन्छिन् भन्नु रावणको भ्रमजाल र मायाको मन्त्रजाल मात्र हो। आफ्नै सन्तान जीव प्राणिहरुको बली उनले कसरी स्विकार गर्छिन् ? अझै देवि–देवताको अगाडि जुन प्राणिको बली चढाईन्छ, त्यसको एक थोपा रगत पनि देवि–देवताले खादैनन्, बली दिनेले नै सबै खाने गर्छन्। बलीको रगतले स्वच्छ र पवित्र देवि–देवताको मूर्ति अस्वच्छ र दुर्गन्धित बन्न पुगेका छन्।

देविले हामीबाट पञ्चवलि माग्नुको अर्थ आफूमा भएका काम, क्रोध, लोभ, मोह, अहंकार रुपी पञ्चविकारको बलि चढाउनु वा छोड्नु हो। यदि यस संसारमा प्रत्येक नर–नारिले आफूमा भएका पाँच–पाँच विकारको बलि दिए वा छोडे भने निश्चय नै यो बसुन्धरा स्वर्गपूरीमा बदलिने छ। हाम्रा दुःखका दिन समाप्त हुनेछन्, हाम्रा कष्ट, पीडा र अशान्ति सधैका लागि नष्ट हुनेछन्। हाम्रो जीवन देव समान पूज्य, पावन र दिव्य बन्नेछ। विषय विकार आसुरी शक्ति हुन्, राक्षसी शक्ति हुन्, रावणीय सम्पत्ति हुन्।

यिनै वर्तमान जगतका दुःख, अशान्तिका कारक तत्व हुन्। यिनै विकारले संसारका सबै आत्मारुपी सितालाई रावणको शोक बाटीकामा शोकाकुल अवस्थामा राखेका छन्। यिनै महाविकाररुपी रावणबाट आत्मारुपी सीतालाई छुटाएर गति–सद्गति, मुक्ति–जीवनमुक्तिको परमपद दिन जगत कल्याणकारी परमपिता शिव भगवान यस धरामा अवतरित हुनुभएको छ। उहाँ नै हरि हुनुहुन्छ, जसले आत्मामा भएका विषय–विकारलाई हर्नुहुन्छ र सुखी बनाउनुहुन्छ। उहाँ नै सर्व आत्माका रञ्जनकारी, सच्चा राम हुनुहुन्छ, जसले आत्मारुपी सीतालाई मुक्त गर्नुहुन्छ।

प्रकृतिको नियम अनुरुप यस जगतमा भएका जीव–जन्तुहरुलाई वासस्थान र भोजनको व्यवस्था पहिले देखि नै मिलिरहेको छ। यो व्यवस्थालाई मनुस्यको साथ साथै पशुहरुले पनि स्विकार गरेका छन्। मनुष्य मात्र यस्तो जीव हो, जसले प्रकृति–प्रदत्त स्वास्थ्यवर्धक खाद्य पदार्थ हुँदा–हुँदै पनि अन्य पशुहरुको निर्मम हत्या गरि भक्षण गर्दछन्।

निष्कर्षमा भन्नुपर्दा सुख–शान्तिको प्राप्ति मांसाहार, अनाचार, कामाचारबाट हुँदैन बरु वास्तविक सुख, शान्ति र आनन्दलाई यसले नाश गरिदिन्छ। तनाव, बेचैनि एवं हिंसात्मक सोचले ग्रसित हुँदै रोगी–महारोगी अवस्थामा पु¥याउँछ। अतः विजया दशमी पावन पर्वको अवसरमा यस किसीमको दानविय प्रवृत्तिलाई परिवर्तन गर्न सर्वप्रथम साकाहारी भोजनको प्रयोग गर्दै आफूलाई पवित्र एवं सदाचारी बनाउनुका साथै ज्ञानी एवं राजयोगी जीवन व्यतित गर्ने शुभ संकल्प गरौं, यसैमा मानव जीवनको सार्थकता छ। शुभ–विजया दशमी !
ओम् शान्ति

ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय
एवं राजयोग प्रशिक्षण केन्द्र्र
शाखा, म्याग्दी