बोलेरो दुर्घटना : छ जनालाई पोखरा रिफर

0
213

म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर गरिएको छ ।

मंगला गाउँपालीका ३ पखेरका १९ वर्षिय वुद्धीमान थापा, बेनपा ४ का नवीन घर्ती, मंगला ३ का २४ वर्षिय रसीव केसी, १६ वर्षिय सुमन थापा, १६ वर्षिय सुजन थापा र १७ वर्षिय सुमन थापालाई रातीनै मणिपाल शिक्षण अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनपा ४ का १६ वर्षिय ईन्द्र किसानको बेनी अस्पतालमा उपचार भैरहेको छ ।  मेलामा भलिबल खेलेर घर फर्कदै गरेका खेलाडी चढेको गाडी ओरालो घुम्तीबाट दुई सय मिटर तल खसेको थियो ।

स्थानीय बासी र प्रहरीले घाइतेलाई उद्धार गरि अस्पताल ल्याएका थिए । जिपको पछाडी बसेका फरम हमालले जिप पल्टीन थालेपछि आफू हाम फालेर झरेको बताउनुभयो । “हामी पछाडी बसेका थियौं, जिप पल्टीन थालेपछि हाम फाल्यौ” हमालले भन्नुभयो “हेर्दा हेर्दै जिप पल्टीयो ।” म्याग्दीका ग्रामिण सडकहरुमा बोलेरोे जीप सडक एम्बुसका रुपमा देखिएका छन् । स्थानीयबासीले सडक सञ्जालबाट आवतजावत गर्न सहज मानेपनि बोलेरोले क्षमता भन्दा तेब्बर यात्रु बोक्ने गरेकाले पनि बोलेरो दुर्घटनाको क्रम रोकिएको छैन् ।