दशैंको टिका लगाएपछि हिमाली जिल्ला मुस्ताङको भ्रमण गर्ने आन्तरिक पर्यटक बढेका छन् ।बेनी–जोमसोम सडकखण्ड हुदै दैनिक एक सयको हाराहारीमा मोटरसाईकल र अन्य सवारीसाधन प्रयोग गरी जानेको संख्या ह्वात्तै बढेको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । ‘मोटरसाईकलमा आउने यात्रुको संख्या धेरै छ ।देशभरबाट समुह बनाएर घुम्न आएका छन्’ शेरचनले भने ।

उनले सडक अवरुद्ध र मर्मतका कारण समस्या हुने देखेर धेरैले यात्रा स्थगित गरेको बताउँदै अहिले सडकमा कुनै समस्या नभएको शेरचनले बताए । दुईपाङ्ग्रे सवारीसाधनले सडकमा पदैलयात्रुलाई समेत समस्या भएको बताए । ‘सडक अवरुद्ध हटेपछि यात्रा सहज भएको छ । यो क्रम कात्तिकको तेस्रो सातासम्म चल्छ’ उनले भने ।

आफन्त, मान्यजनबाट टिका थापेपछि देशका विभिन्न क्षेत्रबाट सडकमार्ग हुदै जाने पर्यटकले म्याग्दीको गलेश्वर, भुरुङ तातोपानीमा स्नान, रुप्से झरना, अन्धगल्छीको अवलोकन गरी मुस्ताङको लेते गाविस देखि मुक्तिनाथ गाविसमा रहेका पर्यटकीय स्थलको अवलोकन गर्ने गर्दछन् । ‘दुईतिन दिनको प्याकेट बनाएर आउने मध्ये केही उपल्लो मुस्ताङ सम्म जाने गरेपनि अधिकाँसको मुक्तिनाथबाटै फर्कन्छन् ।आन्तरिक पर्यटकलले होटल खचाखच भरिएका छन्’ मुस्ताङका पर्यटन ब्यवसायी खगेन्द्र तुलाचनले भने ।

उनका अनुसार सडकखण्डमा पटकपटक देखिने समस्याका कारण अघिल्ला बर्षको तुलनामा जिल्ला भित्रिने आन्तरिक तथा बाह् पर्यटकको संख्या कम रहेको छ । यसैविच ट्राफिक कार्यालय म्याग्दी र मुस्ताङले चेकजाँचलाई कडाई गरेको छ । बेनी, रघुगंगा, अन्नपूर्ण र मुस्ताङका विभिन्न गाउँपालिकामा घुमेर फर्कने आन्तरिक पर्यटकबाट समेत ब्यापारिक कारोबार बढेको छ ।