बेनी –जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा बर्षासंगै खोलाको बाहव बढेपछि आवतजावत बन्द भएको छ । खोलामा आएको बाढीले सोमबार साँझ एउटा ट्याक्सी बगाएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट बेनी तर्फ आइरहेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।

‘सडकमा सवारीसाधनको अत्याधिक चाप छ । अवरुद्ध हुदाँ दुवै तर्फ ठुलो संख्यामा यात्रु अलपत्र परेका छन्’ उनले भने । उनका अनुसार खोला पार गर्ने क्रममा बाढीले ट्याक्सी बगाएको हो । खोलामा ट्याक्सी फसेपछि चालक र यात्रुहरू बाहिर निस्किएकाले मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्सी करिव १ सय ५० मिटर तल नदीको विचमा देखिएपनि बाहिर निकाल्न समस्या भइरहेको छ । विदामा उत्तरी म्याग्दी हुदै मुस्ताङको भ्रमणमा निस्किएका सयौं यात्रु अलपत्र परेका छन् ।

मंगलबार विहानै बेनी हुदै निजी र भाडाका सवारीसाधनमा मुस्ताङ लागेका यात्रुहरु अलपत्र अवस्थामा छन् । सडक मर्मतको कार्य भइरहेको छ । गतबर्ष बेगखोलामा आएको बाढीले बस्तीसंगै बेलीब्रिज लगाएतको संरचना बगाएपछि खोलामा बनाइएको अस्थायी मार्गबाट सवारी आवतजावत गर्ने गरेका छन् । यसैविच दानाको काभ्रेभीरको अवरुद्ध सोमबार राती खुलेको छ । जिल्लाको उत्तरी क्षेत्रमा बर्षा भइरहेकाले पनि सडक अवरुद्ध र यात्रा जोखिमपूर्ण बनेको छ ।