यसरी खुल्यो अवरुद्ध बेनी –जोमसोम सडक

0

अवरुद्ध बेनी –जोमसोम सडक मर्मत पछि सुचारु भएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा बर्षासंगै खोलाको बाहव बढेपछि आवतजावत बन्द भएको थियो ।

सोमबार साँझको बर्षासंगै आएको बाढीले बेगखोलामा ट्याक्सीलाई बगाएपछि आवतजावत बन्द भएको थियो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट बेनी तर्फ आइरहेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको हो । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका थिए ।

मंगलबार साँझबाट सहज आवतजावतको ब्यवस्था मिलाइएपनि बेगखोलामा अझै जोखिम रहेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । उनले सडक सुचारु भएपछि यात्रु र सवारीसाधनलाई सावधानी पूर्वक वारपार गराइएको बताए ।

विदामा उत्तरी म्याग्दी हुदै मुस्ताङको भ्रमणमा निस्किएका सयौं यात्रु अलपत्र परेपछि लगातार मर्मत गरिएपछि यात्रु समेत गन्तब्य तर्फ लागेका छन् । गतबर्ष बेगखोलामा आएको बाढीले बस्तीसंगै बेलीब्रिज लगाएतको संरचना बगाएपछि खोलामा बनाइएको अस्थायी मार्ग समेत बेलाबेलामा भत्कने गरेको छ । दानाको काभ्रेभीरको अवरुद्ध सोमबार राती खुलेको थियो । जिल्लाको उत्तरी क्षेत्रमा बर्षा भइरहेकाले पनि सडक अवरुद्ध र यात्रा जोखिमपूर्ण बनेको छ ।