म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन बिरामीहरुको घुइँचो लागेको छ। हिमालयन प्रोजेक्ट बेल्जियमको आर्थिक तथा प्राविधिक सहयोगमा बुधबारदेखि पुलाचौर स्वास्थ्यचौकीमा शुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण तथा दन्त शिविरमा बिरामीको भीड लागेको हो ।

शिविरको पहिलो दिन कुल १५८ जनाले नामदर्ता गरेका छन्भने २३ जनाले सेवा लिएको पुलाचौर स्वास्थ्यचौकीका अहेब कल्पना ढुङ्गानाले जानकारी दिएकी छिन् । शिविरमा विशेषगरी दाँतका रोगीहरुको उपचार गरिएको छ भने सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको आयोजकले जनाएको छ ।

उक्त शिविरमा बेल्जियमका डाक्टर जोन र अस्टे«लियाली नर्स बेतानीसहितको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरिरहेको छ । ग्रामीण भेगका सर्वसाधारण तथा दाँतको रोगबाट पीडिहरुलाई घरदैलोमै सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको बेनपा–५ का वडा सदस्य रामप्रसाद सुवेदीले बताए ।

दाँतको उपचार महङ्गो मानिने भएको हुँदा सदरमुकाम तथा बाहिरी जिल्ला पुगेर सेवा लिनुपर्ने बाध्यताका कारण शिविरमा स्थानीयको घुइँचो लागेको छ । शनिबारसम्म चल्ने शिविरमा साविकको पुलाचौर गाविसलगायत आसपासका क्षेत्रका सर्वसाधारणले सेवा लिइरहेका छन् ।

हिमालयन प्रोजेक्ट नेपालका कोअर्डिनेटर नारायण पुन, बोर्डमेम्बर प्रकाश पौडेल र पुलाचौरका जनप्रतिनिधिको पहलमा शिविर ल्याइएको बताइएको छ । शिविरको उद्घाटनसत्र वडा अध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षता, स्वास्थ्यचौकीका अनमी अमृता सुनारको सञ्चालन, हिमालयन प्रोजेक्टका फाउण्डर पलभान्डे मोटेलको प्रमुख आतिथ्य र बोर्डमेम्बर पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।