भाकल पुरा गर्न लैजाँदै गरेको बोको बाघले बाटैमा खाइदिएपछि……

0

एकैदिन एउटै गाउँमा दुईवटा घटना । एउटै बाघले दुईवटा बाख्रा मारिदियो । आफ्नो नाउँको भाकल पुरा गर्न भनेर घरबाट सँगै लिएर भूमेथानमा लैजाँदै गरेको बलीको बोको बाटैमा बाघले खाइदिएको छ । म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीका कृष्ण खत्रीले आफ्नो भाकल पुरा गर्न लैजाँदै गरेको बाख्राको बोको बाटैमा बाघले आक्रमण गरेर मारिदिएपछि भाकल अधुरै रहेको छ ।

बिहीबार गाउँदेखि २ घण्टाको दुरीमा रहेको प्रसिद्ध भूमेथानमा गाउँलेसँगै बोको लिएर जाँदै गरेका उनको हातैबाट बाघले बोकालाई आक्रमण गरी मारेको भाङ्ले चिप्लेटी सामुदायिक वन उपभोक्ता समितिका सचिव गणेशबहादुर कार्कीले बताउनुभयो । चिप्लेटी र गाजने गाउँको सिमानामा पर्ने वनजङ्गल नजिकै कालढुङ्गा भन्ने स्थानमा पुग्ने क्रममा बाटैमा बसेको रातो पाटेबाघले भाकलको बोको खाइदिएको उहाँले टेलिफोनमा जानकारी दिनुभयो ।

बाघ एक्कासी आएर बोकालाई झम्टिएपछि बोको समातेका भाकलकर्ता खत्री र बाघको बिचमा एकछिन् पाठो तानातान भएको उहाँका पिता लक्ष्मण खत्रीले बताउनुभयो । कृष्णले आफ्नो नामको बोको लिएर अगाडि जाँदै गरेको र अन्य मानिसहरु ५० मिटरको दुरीमा तल रहेका कारण उकालोमा बाघले बोकालाई आक्रमण गरी रगत चुसेर भागेको उहाँको भनाई छ ।

बाघले बोकालाई आक्रमण गर्न आउने र भाग्ने क्रममा बोकाको डोरी समातेको हुँदा आफूलाई पुच्छरले प्रहार गरेको कृष्णले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाघ आएर बोकालाई गास हाल्यो, म चिच्चाएँ तर डोरी छोडिन । त्यसपछि तलबाट अरु मानिस कराएपछि बाघ उफ्रेर भागिहाल्यो र म पनि बाघको मुखैबाट बाँचें ।’ बाघले बोकाको रगत चुसेर भागेको उहाँको भनाई छ ।

यसपाली भाकल पुरा गर्ने काम बाटैमा बाघको आक्रमणबाट बोको मरेपछि अधुरै बनेको हुँदा अर्को वर्ष पुरा गर्ने लक्ष्मण खत्रीले बताउनुभयो । ‘धन्न छोरालाई केही भएन, रगत चुसेपनि पाठौ लैजान पाएन बाघले । अर्को वर्ष भाकल पुरा गर्छाैं’ उहाँले भन्नुभयो । सेतो एक बर्ने रङको बोको ६ महिनाको थियो ।

अहिलेसम्म गाउँमा यस्तो घटना कहिल्यै पनि नघटेको हुँदा यो घटना पहिलो भएको गाउँलले बताएका छन् । भाकल गरेको बोको हातबाटै बाघले आक्रमण गरेर मारेपछि गाउँलेहरु समेत आश्चर्यचकित भएका छन् । हरेक वर्ष नियमित रुपमा पुजाआजा हुँदै आइरहेको भूमेथानमा स्थानीयले आ–आफ्नो भाकल गरी बलीका रुपमा बाख्राको पाठो चढाउने गरेका छन् ।

यसैबीच भाकलको बोको पुरै खान नपाएको बाघले दिउँसो नै चिप्लेटी गाउँकै काउलेका मोहन कार्कीको बाख्रो खाइदिएको छ । भाकल गरेको बोकाको रगत मात्रै चुसेर भागेको बाघ भाउन्निदै काउले पुगेर कार्कीको भकारोमा बाँधिराखेको माउ बाख्रालाई आक्रमण गरी मारेको चिप्लेटीबाट मिनबहादुर खत्रीले जानकारी दिनुभयो । बाख्रालाई आक्रमण गरेको थाहा पाएर होहल्लापछि रगत खाएर बाघ भागेको बताइएको छ । दिउँसै बाघले गोठमै पुगेर बाख्रा मार्न थालेपछि चिप्लेटीका बाख्रापालक कृषकहरु चिन्तित बनेका छन् ।