पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’मा भ्यु–टावर बन्ने (फोटोफिचर)

0
242

बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डिलमा भ्यु–टावर बन्ने भएको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेस्थित ऐतिहासिक तथा प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीय एवं रमणीयस्थल गुफाको डिलमा पर्यटक आकर्षण गर्नका लागि भ्यु–टावरको निर्माण गरिने भएको हो ।

चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेटबाट भ्यु–टावरको काम अगाडि बढाइने भएको छ । तत्कालका लागि भ्यु–टावरको प्राविधिक तथा अन्य व्यवस्थापन गर्न वडा परिषदबाट एकलाख रुपैयाँ बजेट विनियोजन गरिएको बेनपा–५ को वडा कार्यालयले जनाएको छ । पर्यटकीय एवं रमणीयस्थलको प्रचारप्रसार गरी पर्यटक भिœयाउन वडा परिषदबाट बजेट विनियोजन गरिएको बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँले बताए । चालु वर्षमा भ्यु–टावर निर्माणका लागि प्रारम्भिक चरणको काम शुरुवात गरेपछि क्रमिक रुपमा बजेट विनियोजन गरिने उनले बताएका छन् ।

जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले नगरपालिकासँग आवश्यक समन्वय गरी प्राविधिक ल्याएर लागत स्टमेट तयार गरिसकेपछि भ्यु–टावरको अन्य काम अगाडि बढाइने जानकारी दिए । उनले पहिलो चरणमा टावर निर्माणको सुरुवात मात्रै गरिने हुँदा आगामी वर्षहरुमा थप बजेट व्यवस्थापन गरेर निर्माण कार्यलाई समेत तिब्रता दिइने बताए ।

पर्यटकीय एवं रमणीयस्थल गुफाको डिलबाट मनोरम हिमश्रृङ्खलाको दृश्यसहित संसारकै सातौं अग्लो धौलागिरि हिमाल देखिन्छ । गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणको रुपमा रहेको छ । जगन्नाथ मन्दिर दर्शन एवं पुजा आजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।

बेनीको शिरैमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमश्रृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, गणेश हिमाल लगायतका दर्जनौं हिमश्रृङखलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै विभिन्न ६ वटा चुचुराहरु छन् । आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालहरुको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ ।

नाङ्गो आँखाले गूर्जा हिमालदेखि माछापुच्छे«सम्म एकै नजरमा हेरेर पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकको ४१ ओटा गाविसहरुमध्ये ३६ ओटा गाविसहरु एकै नजरमा सररर हेर्न सकिन्छ । यसैगरी पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाका डाँडाकाँडाहरु समेत गुफाको डिलबाट देखिन्छ । गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिसहरु पुग्ने गर्दछन् ।

म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर ३ घण्टा र गाडीबाट डेढ घण्टाको समयमा पुगिने गुफाको डिल समुन्द्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा २ ओटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गलहरु देख्न पाइन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिक्निकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्नेहरु बताउँछन् ।

जगन्नाथ मन्दिरदेखि करिब १० मिनेटको दुरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भिœयाउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताए । प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टकहरु तान्न सकिने उनको भनाई छ ।

सन् १५६० मा तत्कालीन राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती रहेको छ । मन्दिरको यस्तैखाले विशेषता कारण पनि जगन्नाथ दर्शन र गाजने गाउँ तथा गुफा डिल हेर्न मानिसहरु पुग्ने गरेका छन् ।