सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी हुनुपर्ने बताएकी छिन् । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था म्याग्दीको शनिबार बेनीमा छैठौं साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

उनले सहकारी हुने खानेको मात्रै नभई हुँदा खानेको पनि हुनुपर्ने बताउँदै गरिब, विपन्न र न्युन आय भएका जनताको स्तर वृद्धि गर्नुपर्ने बताइन् । राज्यमन्त्री खड्काले सहकारीमार्फत देशको आर्थिक विकास सम्भव भएको हुँदा व्यवसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएकी छिन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सहकारीले समाजमा गरिबी निवारण र रोजगारी सिर्जना गर्नुपर्ने बताएका थिए ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन)का केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले सहकारीको ऐननियम, सिद्धान्त र मुल्यमान्यताअनुसार सहकारी संघसंस्थाहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले समयअनुसार सहकारीलाई रुपान्तरण गर्नुपर्ने बताउँदै समाज परिवर्तनको अभिन्न अङ्गका रुपमा विकास गर्नुपर्ने बताए । मोना आइईसीका अध्यक्ष योगेन्द्र क्षत्रीले जिल्लाको विकासका सम्भावनाका क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने बताएका थिए ।

‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापना भएको सहकारीले साधारणसभाको अवसरमा मुठ्ठीदान हस्तान्तरण गर्नुका साथै विविध विधामा सम्मान समेत गरेको छ । सहकारीले बेनपा–६ को एकल तथा विपन्न सीता बानियाँको परिवार र एचआईभी संक्रमितको संस्थालाई चामल, दाल, नुनतेल, चिनीलगायत दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको छ ।

यसैबीच पत्रकारिताको माध्यमबाट समाचार सम्प्रेषण गरी सहकारीको वृद्धि र विकासमा सहयोग पु¥याएको भन्दै म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई नगद तीनहजार ३३५ रुपैयाँ, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको सहकारीले जनाएको छ ।

त्यस्तै असल कर्जातर्फ उमा रिजाल शर्मा, धेरै उपस्थित जनाउने शर्मिला जोशी श्रेष्ठ, उत्कृष्ट बचतकर्ता निरन्जना श्रेष्ठ, लखपति बचत सुगम श्रेष्ठ, कर्मचारीतर्फ प्रवन्धक गीता शर्मा आचार्य, आवधिक बचततर्फ लक्ष्मी सुवेदी, बाल बचतकर्ता नेहिका÷बन्दना सुवेदी र पेन्सन बचतमा भावना मगरलाई सम्मान गरिएको छ ।

यसैगरी शेयर सदस्यका छोराछोरीतर्फ गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सन्देशप्रसाद पौडेल, सिमा रिजाल, व्यवसायतर्फ पुष्पा पुन र सुशिला मल्ललाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । यस्तै सहकारीले एकल महिला प्रोत्साहन कार्यक्रमबाट विभिन्न १२ जना एकल महिलालाई पनि सम्मान गरेको छ ।

कुल ७५३ जना शेयर सदस्य रहेको संस्थाको चारकरोड २१ लाख ५० हजार शेयर पुँजी, सातकरोड ३७ लाख ९९ हजार ८४९ निक्षेप सङ्कलन र १० करोड २५ लाख ५२ हजार ९१३ रुपैयाँ लगानी रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष जमुना आचार्यले सहकारीको गतिविधि प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सहकारीका अध्यक्ष आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सचिव विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले साधारणसभाको बन्दसत्र चलिरहेको छ भने संस्थाको नयाँ कार्यसमिति समेत चयन गरिने बताइएको छ ।