‘मायालु डाँडा’मा तन्नेरीको भिड (फोटोफिचर)

0
‘मायालु डाँडा’ का नामले चर्चित पर्यटकीयस्थल लभ्लीहिलमा हिँजोआज तन्नेरीहरुको भिड लाग्न थालेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२, खबरामा रहेको लभ्लीहिलमा पछिल्लो समय युवायुवतीको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ । 
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु लभ्लीहिलमा पुग्ने गरेका छन् । लभ्लीहिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्न खासगरी तन्नेरीहरु पुग्ने गर्छन् । 
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको स्थानीयको भनाई छ । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ताहरु पुग्ने गरेका छन् । सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने विदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवतीहरु लभ्लीहिलमा देखिन्छन् ।
लभ्लीहिलबाट वरपरको दृश्य राम्रो देखिने भएको हुँदा लभ्लीहिलको डिलमा मानिसको सुरक्षाका लागि तारजाली लगाउनुपर्ने आवश्यकता रहेको लभ्लीहिल घुम्न पुगेका म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द शर्माले बताउनुभयो ।
खासगरी युवायुवतीका बीच ‘डेटिङ स्पट’का रुपमा परिचित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । लभ्लीहिलको विकासका लागि उपयुक्त पदमार्गको निर्माण गर्नुपर्ने बेनीका युवा रमेश गिरी बताउनुहुन्छ ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ । 
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरुले माग गरेका छन् । लभ्लीहिल पुग्नका लागि पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना रहेको छ ।
लभ्लीहिलमा गत आर्थिक वर्ष २०७३/७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कुल १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायतका पूर्वाधारहरुको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।ujyaaloonline.com