म्याग्दीको दोस्रो व्यापारीक केन्द्र मालिका गाउँपालिकाको दरबाङ बजारमा बसर्पाकको समस्या देखिएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको दरबाङ जिल्ला सदरमुखकाम बेनीपछिको दोस्रो ठूलो बजारको रुपमा विकास भइरहेको छ ।

बढ्दो शहरीकरणका कारण यहाँको खाली ठाउँमा घरहरु बन्ने र सवारी साधनको बढ्दो चापका कारण यहाँ बसर्पाकको समस्या देखिएको छ ।  दरबाङदेखि बिम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि गाउँपालिकाको ताकम हुँदै मुना लगायतका ठाउँमा समेत सवारी साधन आवत जावतको लागि सडक विस्तार भइसकेकाले  दरबाङमा दर्जनौ गाउँबस्तीको संगम तथा व्यापारिक केन्द्र समेत हो ।

बेनीदेखी दरबाङ सम्म पुगेर त्यहाँबाट साधन परिर्वतन गरी छुट्टाछुट्टै रुट भएर जाने भएकाले त्यहाँ सवारी साधनको बढी चाप हुने गरेकाले पनि साधनहरुको व्यवस्थापनमा समस्या देखिएको छ । सदरमुखकामबाट १२ वर्ष पहिला सडक पुगे पनि अहिले सम्म त्यहाँ व्यवस्थित बसर्पाक भन्न सकेको छैन ।

दरबाङ उद्योग बाणिज्य संघका एकाइ सभापति मोतिराज उपाध्याले भने ‘अहिले गाउँपालिकाको कार्यालय रहेको भवन अगाडिको सडकको छेउमै साधनहरु पार्किङ गरिन्छ, व्यक्तिको जग्गामा सरकारी साधनहरु पर्किङ गरिएको छ, यो दुखत कुरा हो । अब यसलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राख्नु पर्छ ।’

तल्लो बजारको पछाडि रहेको छ्यारछ्यारेमा सार्वजनिक तथा निजी जग्गाहरुलाई व्यवस्थापन गरी तत्कालै बसपार्कलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको बासिन्दाको भनाइ छ ।  बेनी–दरबाङ जिप चालक विकास पुनले पहिले त साधनहरु कम भएपनि अहिले साधहरु बढ्दै  गएका बताए ।  ‘सडकमै पार्किङ गर्नुपर्छ, आलोपालो गरी पार्किङ गर्छौ,’ उनले भने,‘अर्को सवारी साधन आएमा ठाउँ छाडी अन्यत्रै लैजानुपर्ने बाध्यता छ । ’

सर्वसाधारण र सवारी साधनको आवत जावत बढ्दै गएको सन्दर्भमा दरबाङ बजार क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनालाई समेत प्राथमिकता दिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘ गुरुयोजना नै तयार गरी बसपार्क निर्माणलाई अगाडि बढाउने योजना छ, बसपार्कलाई व्यवस्थित गर्ने विषयमा यातयात व्यवसायी, स्थानीय बासिन्दा र सरोकारवालासँग छलफल समेत गरेका छौं ।’राकेश शर्मा