माछा मार्न म्याग्दी खोलामा गएका एक बालक बेपत्ता भएका छन् । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ बर्षिया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसंगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयबासीको भनाई उद्धित गदैं बावियाचौरबाट केशव कँडेलले बेनीअनलाइनलाई बताए ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । विदाको समयमा खोलामा पुगेका पुन खोला बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीय, आफन्त र प्रहरीले खोजीकार्य सुरु गरेका थिए । दशैतिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।

म्याग्दी र कालिखोलाको सतह घटेको छैन् । प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले विदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताईन् । म्याग्दी र कालिगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिका देखी पाका मान्छे जाने गरेका छन् । बजारमा माछाको माग घेरै हुने भएकाले पनि तातोपानी लगाएत आसपासका क्षेत्रमा ब्यवसायीक रुपमै माछा मार्ने गरिन्छ।