१७ करोड लगानीमा मुक्तिनाथमा रिसोर्ट

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्ष्य गर्दै मुक्तिनाथमा १७ करोड लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणाधीन रिसोर्ट एक वर्षभित्र सञ्चालनमा आउनेछ। रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ।

 रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैंचा र पार्किङस्थल निर्माणको काम भने बाँकी छ । तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको पहिलो चरणमा २० कोठाको भवन निर्माण सम्पन्न भएको लामाले जानकारी दिए । उनका अनुसार यही वर्षको दसैंमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरे पनि विनाशकारी भूकम्प र हिउँदमा बढी चिसो हुने भएकाले कामदार बेसी झर्ने हुँदा एक वर्ष लम्बिएको हो।

‘स्थानीयसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि लिजमा लिएर सुरु गरेको यो रिसोर्ट दुई चरणमा बन्नेछ । पहिलो चरणको काम ८० प्रतिशत सकिएको छ भने दोस्रो चरणको काम भने रिसोर्ट सञ्चालनमा आएपछि सुरु हुनेछ’, लामाले भने, ‘यहाँ आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी केही नयाँ गरौं भन्ने उद्देश्यले मैले रिसोर्टको अवधारणा ल्याएको हुँ ।’ रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ। वरपर स्याउबारीसमेत रहनेछ।

पहिलो चरणमा १० करोड र दोस्रो चरणमा थप सात करोड रुपैयाँ लगानी हुनेछ । मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । ‘म पनि स्थानीय भएकाले सुरुमा यहाँका दाजुभाइसँग मेरो योजनाबारे जानकारी गराएँ, सबैलाई सेयर हाल्न आग्रह गरेँ तर उहाँहरूले जग्गा उपलब्ध गराउने र लगानी मैले गर्ने सहमतिअनुसार काम भइरहेको छ’, उनले भने, ‘अहिले यस क्षेत्रमा राम्रा होटल खुल्ने क्रम छ, रिसोर्ट खुलेपछि सबै किसिमका पर्यटकलाई अझ सहज हुनेछ।’

लामाले रिसोर्टमा स्थानीयलाई रोजगारीका लागि पहिलो प्राथामिकता दिने बताए। बेनी-जोमसोम-कागबेनी र मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको उल्लेख्य वृद्धि भएको छ। राउन्ड अन्नपूर्णअन्तर्गत पर्ने मुक्तिनाथमा तेस्रो मुलुकका पर्यटक आवागमन पनि उच्च छ । हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा लामाले ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरेका थिए।

‘हिन्दूले मुक्तिनाथका साथ पशुपतिनाथ पुग्नैपर्ने धामको रूपमा व्याख्या गरेका छन् र त्यहीअनुसार दर्शन गर्न पुगेका छन्। मेरो चाहना भनेको लुम्बिनी र मुक्तिनाथलाई जोडेर बौद्ध मार्ग बनाउने हो’, उनले भने, ‘यसैका लागि मैले गाउँमा रिसोर्टको अवधारण ल्याएको हुँ । स्थानीयले उत्तिकै सहयोग गरिराख्नुभएको छ ।’ मुक्तिनाथमा अहिले २५ वटा साना-ठूला होटल छन् । लामाले बुद्धको मूर्ति र रिसोर्टको अर्को वर्ष एकै पटक उद्घाटन गर्ने योजना बनाएका छन्। annapurnapost.com