विदामा बेलायतबाट आएका पुर्जाले म्याग्दी क्याम्पसलाई १ लाख ५० हजार सहयोग

0
346

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसलाई बेलायतमा बस्ने एक म्याग्देलीले १ लाख ५० हजार आर्थिक सहयोग गरेका छन् । मोना यूकेका अध्यक्ष कमलबहादुर पुर्जाले मंगलबार क्याम्पसमा स्नातकोत्तर तथा प्राविधिक शिक्षा सञ्चालनका लागि आफ्नो कमाईबाट १ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । क्याम्पसमा आयोजित कार्यक्रममा पुर्जाले जिल्लामै स्नातकोत्तरको शिक्षाले यूवापुस्तालाई पलायन रोक्ने भएकाले आफ्नो तर्फबाट भविस्यमा पनि सहयोग हुने बताए ।

उनले जिल्लाको पुरानो क्याम्पसलाई विश्वभर रहेका म्याग्देलीबाट सहयोग आवश्यकता रहेको बताउँदै स्नातकोत्तर सहितको प्राविधिक शिक्षाका लागि गतबर्ष आयोजित म्याग्दी बेनी धार्मिक एवं शैक्षिक महोत्सव तथा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा समेत बेलायतबाट सहयोग आएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले स्नातकोत्तरको शिक्षाका लागि आवश्यक तयारी सुरु भएको बताए । उनले पूर्व विद्यार्थी, शैक्षिक ब्यक्तित्वबाट थप आर्थिक सहयोग आवश्यकता रहेको बताउँदै महायज्ञमा बोलेको रकम समेत उठ्ने क्रम रहेको बताए । कार्यक्रमको सञ्चालन क्याम्प प्रमुख टिकाराम सापकोटाले गरेका थिए । यसैविच सोही अवसरमा चन्दादाता पुर्जालाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य, राजनीतिक दलका प्रमुख, प्राध्यापक लगाएतको उपस्थिती रहेको थियो । बेलायतबाट विदामा आएका पुर्जाले अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेस्थित सरस्वती आधारभुत विद्यालयलाई १ लाख, ज्ञानप्रकाश मावि दानालाई ५० हजार सहयोग गरेका छन् । सरस्वती आधारभुत विद्यालयका पूर्व प्रअ समेत रहेका पुर्जाले सामुदायिक विद्यालयको स्तरउन्नती र शैक्षिक गुणस्तरबृद्धिका लागि विगतमा समेत सहयोग गरेका थिए । बेलायतमा सामाजिक क्षेत्रमा सक्रिय रहेको मद्धत समुहका संस्थापक समेत रहेका पुर्जाले आफ्नो ब्यक्तिगत आम्दानीबाट हरेक बर्ष जिल्लामा स्वास्थ्य र शिक्षामा सहयोग गर्ने गरेका छन् ।