एकैदिन छुट्टा छुट्टै नदीमा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् । गत शनिबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित रातोपानीमा नुहाउने क्रममा चिप्लिएर कालिगण्डकीमा खसेकी बेनपा–२ खवराका कृष्ण बहादुर थापाकी १२ बर्षिया छोरी किस्मिता थापाको खोजीकार्यमा पोखराबाट शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो ।

आफन्तको घरमा गएको बेलामा नदीमा खसेर बेपत्ता भएकी थापाको खोजीमा आफन्त, स्थानीयबासी, विद्यार्थीहरुका साथै प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएपनि मंगलबार साँझसम्म फेला नपरेको थापाका पिता कृष्ण बहादुरले बताए। ‘छोरीको खोजीमा शसस्त्र प्रहरीको पनि सहयोग मागियो । बेनीदेखी घटनास्थलसम्म खोजीरहेका छौ’ उनले भने । नदी आसपासका क्षेत्रमा फेला परेमा खवर गर्न समेत थापाले अनुरोध गरेका छन् । त्यस्तै माछा मार्न म्याग्दी खोलामा गएका मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ बर्षिया सिमन पुन समेत फेला परेका छैनन् ।

बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका पुनको खोजीकार्य भइरहेको छ । सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसंगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएपनि पुनलाई बगाएको थियो ।बेपत्ताको खोजीमा तातोपानी प्रहरी, आफन्तले घटनास्थल देखी म्याग्दी र कालिको दोभान सम्म खोजीकार्य गरेपनि शव फेला परेको छैन् । बेपत्ता दुवै जनाको खोजीका लागि तटीय क्षेत्रमा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।