बेनी अस्पतालमा अपाङ्ता भएकालाई विदेशी टोलीले चेकजाँच गर्ने शिविर सञ्चालन गरिने भएको छ । हातखुट्टा गुमाएकालाई सहज आवतजावत गर्न मिल्ने गरी नक्कली हातखुट्टा फेर्न हार्डजोर्नीको शिविर सञ्चालन गर्न लागिएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके र बेनी अस्पतालको आयोजनामा आगामी कात्तिक ६ गते बेलायती चिकित्सको टोलीको प्राविधिक सहयोगमा म्याग्दी तथा आसपासका क्षेत्रमा हात र खुट्टामा समस्या भएकालाई शिविर सञ्चालन गर्न लागिएको मोना यूकेका अध्यक्ष कमलबहादुर पुर्जाले बताए ।

‘नक्कली भएपनि सहज आवतजावत गर्न सकिन्छ । शिविरको तयारी सुरु गरिएको छ‘ पुर्जाले भने ।मंगलबार शिविरका बारेमा बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीसंग समेत छलफल गरिएको छ । आर्थिक अवस्था कमजोर भएका र पहुँचको अभावका कारण ग्रामिण क्षेत्रमा अपाङ्ता भएकाहरुले दैनिकी सहज बनाउन नक्कली हात र खुट्टा समेत प्रयोग गर्न सकेका छैनन् ।

परिवारको सहयोगमा शौचालय देखी अन्य गतिविधि गर्ने अपाङ्ता भएकालाई शिविरमा समस्याको पहिचान गरी थप सहयोग गर्ने तथा हात र खुट्टाको नाप गरी बेलायतमै बनाएर सम्बन्धित ब्यक्तिलाई उपलब्ध गराइने छ । जन्मजात अपांग भएका र दुर्घटनामा परेका ब्यक्तिले प्रयोग गर्ने सिलिकन र प्लाष्टिकबाट निर्मित स्टेनलेस, स्टिल, टाइनटेनियम, कार्वन लगाएतका धातुबाट बनाइएका भएपनि जनचेतना र प्रयोग गर्ने तरिका नजान्दा थप पीडा हुने गरेकाले नक्कली खुट्टा, हात, औलाको कृतिम रुपमा तयार गर्ने साम्रागीको प्रयोग गर्न समेत सिकाइने छ ।

बेनी अस्पतलाका प्रमुख डा. न्यौपानेले शिविरबाट धेरैले लाभ लिने गरी प्रचारप्रसार गरिने बताए । उनले जिल्लाभर रहेका स्वास्थ्य चौकी तथा सार्वजनिक महत्वका स्थानहरुमा प्रचारप्रसारका साथै अपाङ्गताको क्षेत्रमा काम गर्नेहरुबाट समेत पीडितलाई शिविरमा ल्याउने बताए । बेलायतमा अपाङ्ताको क्षेत्रमा काम गर्ने गरेकालाई मोना यूकेका अध्यक्ष पुर्जाको पहलमा म्याग्दीमा ल्याउने तयारी गरिएको हो । शिविरका फिजियोथेरापीको विधि सहित विभिन्न विषयमा समेत जानकारी गराइन्छ । कात्तिक ५ गते जिल्लामा आइपुग्ने टोली कात्तिक ६ गते बाट आफ्नो काम गर्ने छ । विरामीको चापका आधारमा शिविर लम्बिने जनाइएको छ । साइड इफेक्ट नहुने गरी हातखुट्टा बनाइने भएकाले पनि करिव ४ बर्षसम्म टिक्ने भएकाले पनि शिविरबाट सेवा लिन अनुरोध गरिएको छ ।

विज्ञापन