पश्चिम म्याग्दीको दरवाङमा आयोजित एक कार्यक्रममा करिव १० मिनेट बालबालिका सम्बन्धि समस्या र योजनाका बारेमा आफ्नो भनाई राखेकी जिल्ला बाल सञ्जाल म्याग्दीकी सचिव रञ्जना श्रेष्ठलाई मञ्चमा रहेका अतिथिबाट दुईघण्टाको अन्तरालमा २१ लाख सहयोग गरे ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना)अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशनमा सहभागि हुन आएका एनआरएनएकर्मीले बालसञ्जालकी श्रेष्ठको अभियानमा सर्मथन जनाउँदै अक्षय कोष स्थापनामा आर्थिक सहयोग गरे । विश्वभरका म्याग्देलीको साझा संस्था मोनाको महाधिवेशनमा बोल्ने अधिकांस बक्ताले बालबालिकाको कोषका बारेमा आफ्नो भनाई राखेका थिए । बालविवाह, बालश्रम, हिंसा, यौनजन्य गतिविधि, छोराको खोजीमा लिङ्ग पहिचान गरी गर्भपतन, शिक्षामा अभिभावबाट विभेद लगाएतका समस्यालाई सहर देखी ग्रामिण क्षेत्रसम्म न्यूनिकरण गर्न अक्षय कोषको स्थापनामा जुटेका

बालबालिकालाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महता ५ लाख, अध्यक्ष शेष घले ५ लाख, उपाध्यक्ष भवन भट्ट २ लाख, मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन १ लाख, एनआएनए यूकेका मोक्ष गुरुङ १ लाख, एनआरएनए यूरोप संयोजक कुल आचार्य ५० हजार लगाएत महाधिवेशनमा सहभागि भएका अतिथिहरूबाट करिव २१ लाख सहयोग जुटेको बाल सञ्जालकी सचिव श्रेष्ठले बताईन् ।‘गर्भबाटै संघर्ष गनुपर्ने छोरीहरूलाई समाजमा धेरै विभेद छ ।धेरै छोरीहरू गर्भमै मारिन्छ’ उनले भनिन् ।

बालबालिकाको समस्या जटिल बन्दै गइरहेको अवस्थामा त्यसलाई दवावमुलक अभियानबाट निरुत्साहित गर्न अक्षय कोष मार्फत अभियान सुरू गरिएको श्रेष्ठको भनाई छ ।उनले मेलापर्वमा बालविवाह हुने, कलिलै उमेरमा जवरजस्ती विवाह गर्ने, समाजमा प्रतिष्ठित मानिएकाहरूले बालबालिकाको शोषण गर्ने, शिक्षामा छोराछोरीलाई विभेद गर्ने लगाएतका समस्यालाई समाधान गर्न सहर देखी दुर्गम बस्तीसम्म घरदैलोमै जनचेतनामुलक अभियान सञ्चालन गर्न सुरू गरिएको कोषमा एकैदिन २१ लाख सङ्कलन भएपछि बाल सञ्जालका अभियान्ता उत्साहित भएका छन् ।

बालविवाहकै कारण धेरै किशोरीको स्वास्थ्य र घरपरिवारमा गम्भीर समस्या देखिएकाले कोषको स्थापना गरी ‘बिहेबारी २० बर्षपारी’,‘विद्यालय शान्ति क्षेत्र घोषणा’,‘राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोगमा निषेध’जस्ता चेतनामूलक कार्यक्रमसहित बालबालिका मार्फत अभिावक र समुदायमा पुग्ने तयारीमा समेत कोषले बल पुगेको मोना अन्तराष्ट्रियकी बरिष्ठ उपाध्यक्ष राधिका गुरूङले बताईन् ।‘बालबालिकको योजनालाई अभियानको रुपमा स्थापित गरिन्छ । विश्वभरबाट अक्षय कोषमा आर्थिक जुटाउन प्रतिबद्ध छौ’ बालबालिका सम्बन्धि आफ्नो कार्यपत्र प्रस्तुत गदैं उनले भनिन् ।
एनआरएनए हङकङकी अध्यक्ष समेत रहेकी गुरूङले बालबालिका कोषको अभियानमा गैरआवासीय नेपालीको सहयोगलाई प्रभावकारी बनाउने बताईन् ।

जिल्लामा स्कुले उमेरमै बालविवाह गरेका धेरैले कानुनी प्रक्रियाबाट सम्बन्धविच्छेद गर्दा समाजमा समेत ठुलो क्षती पुगेकाले बालविवाहको कुरा सुन्नेबित्तिकै घरमै पुग्ने गरी जिल्लाका ६ वटै स्थानीय तहका विद्यालयका साथै गाउँमा बालक्लवको स्थापनालाई समेत प्राथमिकतामा राखिएको छ । नेपालको कानुनमा समेत बालबालिकाको अधिकारलाई सुनिश्चित गरिएपनि ब्यवहारमा कार्यान्वयन गर्न सरकारी निकायबाटै वेवास्ता गरिएकालेजनप्रतिनिधिलाई सचेत बनाउन दवावमुलक कार्यक्रम गरिने बालसञ्जालले जनाएको छ ।

‘कोषले अभियानलाई प्रभावकारी बनाउन सहज भएको छ । बालअधिकारको विरुद्ध जानेलाई सामाजिक बहिस्कारसम्म गर्नुपर्छ’ एक बाल सञ्जालका सदस्यले भने । उनले बालसञ्जालमा रहेका धेरैले गर्भपतनलाई समेत सामाजिक विकृतिका रुपमा लिई त्यसलाई कडाई गर्ने सम्बन्धित निकायलाई दवाव दिनुपर्नेमा समेत जोड दिएको बताए । कोषलाई ५० देखी १ करोडसम्म पु¥याउन सकिने भन्दै प्रवासी म्याग्देली, जनप्रतिनिधि, सरकारी निकाय लगाएत विभिन्न क्षेत्रबाट समेत सहयोग जुटाउने तयारीका बालबालिका जुटेका छन् ।

जिल्ला बालकल्याण समिति मार्फत जिल्लामा ५२ वटा बाल सञ्जाल सुचिकृत रहेका छन भने जिल्लाभर ७० भन्दा धेरै बालसञ्जाल रहेको अनुमान गरिएको छ । विगतमा समेत बालबालिकाको संरक्षणमा ग्रामिण क्षेत्रमा बालसञ्जालको स्थापना गरी विभिन्न कार्यक्रम गरिएपनि निरन्तरता पाउन सकेको थिएन् । कोषलाई वित्तिय संस्थामा राखी ब्याजबाट अभियानमा खर्च गरिने छ । सरकारी निकाय, जनप्रतिनिधि, मोना अन्तराष्ट्रियको संरक्षणमा कोषलाई राखिने छ ।