पेन्सनको आम्दानीे शैक्षिक क्षेत्रमा सहयोग

0

घर विदामा बेलायतबाट आएका एक प्रवासीले जिल्लाको शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् ।अन्नपूर्ण गाउँपालिका–३ दाना स्थायी घर भई हाल बेलायतमा रहेका कमलबहादुर पुर्जाले पेन्सन सहित आफ्नो कमाईबाट हरेक बर्ष शैक्षिक सहित समाजिक क्षेत्रमा सहयोग गरेका हुन् ।

पूर्व बेलायती सेना समेत रहेका पुर्जाले म्याग्दी, चितवन लगाएत देशका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, उपचारमा आर्थिक समस्या भएका विरामीका साथै बृद्धबृद्धालाई आर्थिक लगाएतको सहयोग गर्ने गरेका छन् । दशैंतिहार मनाउन आएका पुर्जाले म्याग्दी बहुमुखी क्याम्पसको स्नातकोत्तर सञ्चालनका लागि डेढ लाख, अन्नपूर्ण गाउँपालिका–३ दानमा अवस्थित सरस्वती आधारभुत विद्यालयलाई १ लाख, ज्ञानप्रकाश मावि दानाको छात्राबास भवनलाई ५० हजार सहयोग गरेको बताए ।

‘बेलायतमा अपाङ्ता भत्ता बापतको पेन्सनबाट सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेको छु । शैक्षिक क्षेत्रमा मेरो पहिलो प्राथमिकता हुने गरेको छ’ पुर्जाले भने । उनले जिल्लाकै पुरानो क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि गरिएको अभियानले यूवाशक्ती पलायन र शिक्षाको खोजीमा जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने भएकाले भविस्यमा समेत सहयोग गर्ने बताए । उनले बेनपा–१० पात्लेखेतका पहिरो प्रभावितलाई ब्यक्तिगत सहित मोना यूकेबाट संस्थागत गरी ७० हजार ६३०, बेनपा–४ बालमन्दिर आधारभुत विद्यालयलाई ७५ हजार ८१० र मंगला गाउँपालिका–५ अर्मनका पहिरो प्रभावितलाई २४ हजार समेत हस्तान्तरण गरेका छन् ।

रोजगार संगै बेलायतमा पुगेका नेपाली बृद्धबृद्धालाई स्वास्थ्य लगाएतका समस्यामा सहयोग गर्न स्थापना गरिएको मद्धत समुहका संस्थापक समेत रहेका पुर्जाले यसअगाडी दरवाङको जनप्रिय मावि, भुरूङ तातोपानीको सर्वोदय मावि, बेनी सामुदायिक मावि, किसानी मावि बिम, महादेव मावि बेग, अमर मावि चिमखोलालाई समेत प्रति विद्यालय १ लाख र ज्ञानप्रकाश मावि दानालाई २ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।

उनले हरेक बर्ष शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । ‘समुदायमा गरिएको सहयोगबाट आनन्द आउँछ ।सहयोगको सदुपयोगमा मैले धेरै चासो देखाउने गरेको छु’ उनले भने । पुर्जाले ब्यक्तिगत आम्दानीबाट गरिने सामाजिक कार्यलाई आगामी दिनमा समेत प्रभावकारी बनाउने बताए । उनले समाजको आवश्यकता पुरा गर्न राज्यको मात्रै मुख ताक्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सबै नेपालीले आफ्नो जन्मभूमिमा सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।

बेलायतमा समेत सामाजिक कार्यमा संलग्न भए वापत सम्मानित समेत भएका पुर्जाले मोना यूके मार्फत जिल्लामा ३ वटा एम्बुलेन्स ल्याउन समेत नेतृत्वदायी भूमिका खेलेका थिए । जिल्लाको बेनी, दरवाङ र भुरुङ तातोपानीमा रहेको एम्बुलेन्सबाट जिल्लाबासीलाई सहज भएको छ । एम्बुलेन्स सहित अक्षय कोष स्थापना समेत गरिएको छ । सामाजिक कार्यकर्ता समेत रहेका पुर्जाले आफ्नो छोरी र श्रीमतिको नाममा समेत छुट्टै सहयोग गर्ने गरेका छन् ।

पुर्जाको पहलमा बेलायतबाट तीनजनाको टोलीले म्याग्दी र पर्वतमा हात र खुट्टा नभएकालाई नक्कली हातखुट्टाको ब्यवस्था समेत मिलाएका छन् । तिहार लगत्तै बेनीमा शिविर सञ्चालनका लागि समेत उनले संयोजन गरेको बेनी अस्पतालले जनाएको छ । जिल्लामा हात र खुट्टा नभएकाहरुको दैनिकी कष्टकर भएकाले पनि बेलायतबाट आउने चिकित्सकको टोलीले उपचार र निशुल्क उपलब्ध गराउने छ ।