प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको नेकपा एमाले म्याग्दीलाई उत्तरी म्याग्दीको अभियानमा बल मिलेको छ ।

स्थानीय तहको निर्वाचन विगतमा निर्वाचनमा बलियो पकट रहेको दावी गर्ने घार, हिस्तान, नारच्याङमा समेत पराजित भएको एमालेले भेला, चुनावी रणनीति सहितका कार्यक्रमहरुलाई उत्तरी क्षेत्रमा केन्द्रित गरिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रबाट अन्नपूर्ण गाउँपालिका–२ मा वडा अध्यक्षमा विजय भएका ओमप्रसाद फगामी सहित वडाका प्रतिनिधिहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

अन्नपूर्णमा एउटा वडामा प्यानल विजय भएर पार्टीलाई क्लिन स्वीप हुनबाट जोगाएको माओवादीले निर्वाचनको पाँच महिना नवित्दै वडा अध्यक्ष सहित पार्टीको गाउँपालिका प्रमुख सहि ६५ जनाले पार्टी छोडेका हुन् ।

बुधबार घारको पोखरेबगरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अन्नपूर्ण गाउँपालिका प्रमुख कुलवीर राम्जाली, वडा सदस्य बुद्धि पुन, वडा सदस्य बुद्धिमायाँ परियार, कार्यपालिका सदस्य टिका तिलिजा पुन,वडा सदस्य विर बहादुर पौडेल लगाएत ६५ जना माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका नेकपा एमालेले जनाएको छ ।

एमालेमा प्रवेश गरेका माओवादीका नेता तथा कार्यकर्ताहरु उत्तरी क्षेत्रमा सक्रिय नेताहरु मानिन्छन् ।माओवादीबाट वडा तथा कार्यपालिका सदस्य समेत रहेका बुद्ध पुन पशुपालक कृषक तथा उत्तरी क्षेत्रमा पार्टीको गतिविधिमा सक्रिय रहेका माओवादी केन्द्रका नेता हुन् ।

माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधि, स्थानीय तहको निर्वाचनमा प्रमुख सहित विभिन्न पदमा उठेका उम्मेदवारका साथै जिल्ला कमिटी सदस्यहरु समेत रहेको नेकपा एमालेले जनाएको छ । निर्वाचन लगत्तै एमाले र माओवादी विच एकताको तयारी भइरहेको अवस्थामा निर्वाचन अगाडी नै पार्टी परित्यागले माओवादीको समानुपातिक तर्फको भोट घट्ने अनुमान गरिएको छ ।

कार्यक्रममा अन्य पार्टीबाट आएकालाई नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापा, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतले स्वागत गरेका थिए । कार्यक्रममा माओवादीबाट प्रवेश गरेका बुद्धि पुनलाई अन्नपूर्ण गाउँपालिकास्तरीय निर्वाचन परिचालन कमिटीको सहसंयोजक र प्रमुख सल्लाहकार कुलबिर राम्जालीलाई राखिएको छ ।