नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चुनावी अभियान सुरू गरेको छ । जिल्लाबाट केन्द्र र प्रदेशसभाका उम्मेदवारहरूको सूची केन्द्रमा पठाए लगत्तै चुनावी अभियानमा जुटेका कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्ताहरुलाई थप सक्रिय बनाउन १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार मूल समिति गठन गरिएको छ ।

पार्टी सभापति एवम् प्रतिनिधिसभाका उम्मेदवार खम्बीर गर्बुजाको संयोजकत्वमा गठित समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरु, महासमिति सदस्यह, महाधिवेशन प्रतिनिनिधि, आमन्त्रित सदस्यका साथै जनवर्गिय संगठनका प्रमुख ,स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाए समावेश गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

निर्वाचनमा घरदैलो सम्म पुग्ने गरी योजनाबद्ध तरिकाले सुरु गरिएको अभियानका बारेमा पार्टी सभापतिले जानकारी समेत गराएका छन् । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई कार्यसम्पादनमा असर नगर्ने गरी अभियानमा विषेश भूमिका खेल्न गर्बुजाले निर्देशन दिएको समितिका एक सदस्यले बेनीअनलाइनलाई बताए । जिल्लाभर चुनावी अभियान केन्द्रित गर्ने तयारीमा जुटेका कांग्रेसले पार्टी प्रवेश लगाएतका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखिएको जनाएको छ।