जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा ६२औं प्रहरी दिवस–२०७४ मनाइएको छ । प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यालय परिसरमा निर्मित प्रहरी स्मारकमा माल्यार्पण गरी दिवस मनाइएको हो ।

प्रहरी स्मारकमा माल्यार्पण गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले समाजलाई शान्तिपूर्ण बनाउन, शान्तिसुरक्षा दिन र अमनचयन कायम गर्न प्रहरीको भूमिका आवश्यक रहेको बताएका थिए । उनले जनतालाई सेवा दिनु पहिलो काम भएको हुँदा प्रहरीको सेवा नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदी र महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मीले अपराध न्युनीकरण तथा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनको विशेष भूमिका हुनेमा जोड दिँदै नागरिकले त्यसमा सघाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षकको शुभकामना सन्देशवाचन गर्दै प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले जिल्लामा प्रहरी कार्यालयमार्फत सामुदायिक प्रहरी सेवा, मुस्कानसहितको प्रहरी सेवा र पछिल्लो समय टोलटोलमा प्रहरी भन्ने कार्यक्रमहरु सञ्चालन गरिएको बताएकी थिइन् ।

कार्यक्रमको अवसरमा सहभागीहरुले प्रहरी शहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिएभने प्रहरी जवानहरुले सलामी दिएका थिए । प्रनाउ खड्काको अध्यक्षता र प्रहरी निरीक्षक सन्तोष रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।