बाल हेरचाह र बालशिकाईको लागि अभिभावक शिक्षा

0
372

म्याग्दीमा गर्भाबस्थादेखि प्रारम्भीक उमेर समुहका बालबालिकाको अभिभावकहरुलाई स्याहार सुसार र शिकाई सम्बन्धि ज्ञान, शिप र क्षमताको विकास गर्न अभिभावक शिक्षा दिन थालिएको छ। प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा म्याग्दी जिल्लाका विभिन्न २५ वटा विद्यालयमा प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका परियोजनाले बालबालिकाको पठनस्तर सुधारका लागि अभिभावकलाई समेत विभिन्न ज्ञान र सीपम’शलक जानकारी दिने गरेको छ ।

विद्यार्थीलाई पहिलो विद्यालय घर भएकाले घरबाटै विद्यार्थीको पढाई सम्बन्धि गतिविधिलाई अगाडी बढाउन अभिभावकलाई समेत शिक्षा दिन लागिएको परियोजनामा म्याग्दी अधिकृत लाल पुर्जाले बताए । उनका अनुसार पहिलो चरणमा १० वटा विद्यालयमा अभिभावक शिक्षाका लागि सहजकर्ता छनौट गरि शिक्षा दिइएको बताउँदै दोस्रो चरणका १५ विद्यालयमा समेत कार्यक्रम सुभारम्भ गरिएको बताए ।

रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित ज्ञानोदय मावि सेवा क्षेत्रको लागि सञ्चालन भएको अभिभावक शिक्षाको औपचारीक रुपमा सुभारम्भ गरिएको छ । स्थानीय अगुवाहरुको उपस्थितिमा अभिभावक शिक्षाको सुभारम्भ गरिएको परियोजनाकी स्थानीय सहजकर्ता कमला शर्माले बताईन् । उनले मौवाफाँटमा चार वटा समुह गठन गरि गर्भावस्थाका महिला र ८ बर्ष उमेर समुहका बालबालिकाका अभिभावकहरुलाई तीन महिनासम्म गर्भवती, सुत्केरी र बालबालिकाको स्याहार सुसार देखि बालबालिकाको प्रारम्भिक शिकाईबारे अभिमुखीकरण गरिने बताईन् ।

चार वटा समुहलाई सहजकर्ताद्धय कमला शर्मा र संगीता रेग्मीले हरेक साता दुई दिन एक घण्टाको दरले सहजीकरण गर्नेछन् । तीन महिनासम्म सञ्चालन हुने सो शिक्षामा अहिलेसम्म ८० जना समुहमा आबद्ध भईसकेका छन् । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाँउपालिकाका २५ वटा विद्यालयमा परियोजना लागु भएको छ। नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन मार्फत म्याग्दीका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गरी बालबालिकालाई पढ्ने बानीको विकास सहित प्रति विद्यालय ५ लाखसम्मको पुस्तक, फर्निचर सहयोग गरिएको छ ।