बेनी अस्पतालको फोहोर ब्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर

0

बेनी अस्पतालमा दैनिक हुने फोहोरको उचित ब्यवस्थापनमा जर्मनबाट आएका दुईजना मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिव तीनसाता अगाडी नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सीमिलियनल र एन्टोनियाले अस्पताल भित्र दैनिक रुपमा संकलन गरिने फोहोरको बर्गीकरण र बिर्सजनको विधि सहित अन्र्तराष्ट्रिय मापदण्डको फोहोर विर्सजन गर्न ईन्सिनेटर प्रविधि जडान गरेका हुन्।

जर्मनको Technology without Borders नामक संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित प्रविधिको प्रयोग गरी अस्पताल भित्र जलाउन मिल्ने र नमिल्ने फोहोरको बर्गिकरण र विर्सजन गर्ने तरिका, फोहोर संकलन गर्दा अपनाउनुपर्ने विधि लगाएत विभिन्न विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालिम समेत दिइएको बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताए । ‘फोहोर ब्यवस्थापनमा सहज हुने छ, अव कर्मचारी देखी चिकित्सकले समेत उनीहरुले दिएको विधि अनुसार फोहोर ब्यवस्थापनमा सघाउने छन्’ डा. न्यौपानेले भने ।

उनले अस्पतालमा गुणस्तरीय सेवा संगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सकले समेत मासिक रुपमा सरसफाई अभियानमा संलग्न हुने, विभिन्न संघसंस्थाबाट समेत सहयोग गरिएपनि ब्यवस्थापनमा देखिएको समस्याले दिगो हुन नसकेको बताउँदै ईन्सिनेटर प्रविधिको प्रयोगले सहज भएको बताए । फोहोर विर्सजनका लागि बनाइएको ईन्सिनेटर नजिक फोहोरको प्रकारका बारेमा जानकारी दिने सुचना, फोहोर राख्ने कोठा समेत बनाइएको छ ।

जर्मनमा रहेको एक गैरसरकारी संस्था र बेनी अस्पतालको लागतमा निर्मित ईन्सिनेटरमा आवश्यक पर्ने प्रविधिहरु समेत जर्मन, भारतबाट ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए । उनले निर्माणकार्य सकिएको बताउँदै शनिबार देखी प्रयोगमा आउने बताए । अस्पताल भित्रका कर्मचारीलाई फोहोर संकलन देखी विर्सजनमा अपनाउनुपर्ने विधिका बारेमा तालिम दिइएकाले अस्पताल विकास समितिले नियमित अनुगमन र निगरानी गर्ने बताए ।

अस्पतालबाट निस्क्निे फोहोमा ६० देखी ८० प्रतिशतसम्म फोहोर संक्रमित फोहोर नहुने र बाँकी फोहोर संक्रमित हुने भएकाले पनि फोहोर विर्सजनमा सचेत हुनुपर्ने जर्मनी मेडिकल इन्जिनियर मेक्सीमिलियनले बताए । उनले यूरोपका अस्पतालमा चिकित्सक जस्तै महत्व फोहोर ब्यवस्थापनलाई दिने गरेको बताउँदै अस्पताल भित्र देखिने फोहोरले विरामीको अपमान गर्ने बताए ।

बेनी अस्पतालमा काम गर्ने क्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग पाएको बताउँदै आगामी दिनमा पनि अस्पतालमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए । फोहोरलाइ जैविक र अजैविक गरी छुटट्याउने तरिका समेत कार्यालय सहयोगीलाई जानकारी गराइएकाले सहज भएको अस्पतालले जनाएको छ । बेनी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सहित सरसफाई सहितको जनचेतनामुलक कार्यलाई समेत प्राथमिकतामा राखेको छ ।