हिजोआज ढाड दुख्ने समस्या बढिरहेको छ। ढाड दुख्ने थुप्रै कारणहरु भए पनि मुख्य रुपमा हेर्दा तीनवटा छन्।

१.जीवनशैली

२.उमेर

३.हाड र जोर्नीका मांसपेसी कमजोर भएर

भिटामीन ‘बी–१२’, भिटामीन ‘डी–३’, क्याल्सियम जस्ता हाम्रो शरीरलाई चाहिने आवश्यक तत्वहरु कम हुँदा र मधुमेहका रोगीलाई ढाड दुख्ने समस्या हुन्छ। सहरी क्षेत्रको तथ्यांक हेर्ने हो भने दस जनामा सात जनालाई क्याल्सियम र ६० देखि ७० प्रतिशतमा क्याल्सियम र भिटामीन ‘डी ३’ दुवैको कमी देखिन्छ।

मांसपेशी कमजोर हुनाले जाडोमा ढाडले धेरै दुःख दिन्छ। कहिलेकाहीँ एक्कासी निहुरेर कुनै भारी सामान तान्दा वा उठाउँदा शरीरको सन्तुलन मिलेन भने पनि ढाड दुख्न सक्छ। यो सबको कारण मांसपेशी कमजोर हुनु र हड्डी खिइनु हो।

उपचार–
दुखाई कम गर्न डाक्टरको सल्लाहमा तुरुन्तै औषधी खानुका साथै पेटी प्रयोग गर्नुपर्छ।

दीर्घकालिन उपचार चाहिँ थेरापी हो जुन विद्युतीय मेसिन लगाएर गरिन्छ। यसले मांसपेसी बलियो बनाउँछ र दुखाइ कम गर्छ। थेरापी चिकित्सकको सल्लाहमा आफैं गर्न सकिन्छ।

यस्तो थेरापी दुई प्रकारको हुन्छ।

पहिलो भनेको ‘फिजिकल फिट्नेश’ का लागि हो जसले ढाडको समस्या आउने सम्भावना यसमा सामान्य खाले विधि सिकाइन्छ।

अर्को थेरापी बिरामीको समस्या हेरेर गरिन्छ। बिरामीको ढाड, घाँटी, हात, खुट्टा लगायत शरीरको कुन अंगमा समस्या छ, त्योअनुसार सिकाइन्छ। हड्डी खिइएको, नसा च्यापिएको जस्ता समस्याका निम्ति गरिने थेरापीको तरिका फरक–फरक हुन्छ। एउटा समस्याको थेरापी अर्कोका लागि गरियो भने झनै जटिल हुन्छ।

ढाड दुख्ने समस्या नभएकाले पनि मेरुदण्डको मांसपेसी बलियो बनाउन फिजियो थेरापिष्टसँग सल्लाह गरेर थेरापी गर्न सक्छन्।

सावधानी–
निहुरिने कामहरु कम गर्नुपर्छ। निहुरेरै काम गर्न बाध्य हुनेहरुले व्यायाम गर्नुपर्छ। ढाड दुखिरहेको छ भने उपचार गरेर मात्रै निहुरिएर काम गर्नुपर्छ। निहुरिएर काम गर्नुको साटो टुक्रुक्क बस्नुपर्छ।

एकै पटक भारी सामान उचाल्न र धेरै समय उभिन हुँदैन। कतिपय अवस्थामा योग, व्यायाम गर्ने, खेल्ने, हिँडडुल गर्नेको पनि ढाड दुख्छ। यस्तो बेलामा खास समस्या पहिचान गरेर थेरापी गर्नुपर्छ।

थेरापी गर्नेहरु बढ्दै–
पछिल्ला दिनमा ढाड दुख्ने समस्यासँगै थेरापी गर्नेको संख्या बढेको छ। मान्छेले थेरापी गर्नुपर्छ भन्ने बुझ्दै गएका छन् र थेरापी गराइने ठाउँहरु पनि धेरै भएका छन्। चिकित्सकले पनि थेरापीको लागि सिफारिस गर्दै आएका छन्।