पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजार क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड शुभदिपावली तथा छठपर्व नजिकिँदै गर्दा बाबियाचौरमा क्रियाशिल सामाजिक संघसंस्थाको अगुवाईमा सरसफाई गरिएको हो ।

स्थानीय प्रहरीचौकी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी बाबियाचौर उपशाखा र स्थानीयवासीको सक्रियतामा कार्यक्रम गरिएको मंगला गाउँपालिकाले जनाएको छ ।

सरोकारवाला सहभागी टोलीले बजार आसपासका क्षेत्रमा भएको फोहोर सङ्कलन गरी जलाइएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका महासचिव भीमकुमारी बुढाथोकीले जानकारी दिएकी छिन् । यसैगरी मंगला गाउँपालिका कार्यालय, प्रहरीचौकी बाबियाचौर, सामुदायिक सेवा केन्द्र, उद्योग वाणिज्य संघ तथा रेडक्रस उपशाखाले नजिकिँदै गरेका चाडपर्वहरुमा जुवातास नखेल्न र नखेलाउन आग्रह गरेका छन् ।

उनीहरुले जुवातास खेल्ने, खेलाउने, जाँडरक्सी बिक्रीवितरण गरी होहल्ला गर्ने, खोरखोरे, लङ्गुर, बुर्जा खेल्ने खेलाउने गरेको पाइएमा कानुनी दायरमा ल्याई आवश्यक कार्वाही गरिने चेतावनी दिएका छन् । समुदायस्तरमा गैरकानुनी क्रियाकलाप नगर्न र नगराउन सार्वजनिक सूचनामार्फत सबैलाई अपिल गरिएको छ । साथै माइकिङ गरिनुका साथै पर्चापम्पलेट वितरण गरी सचेत बनाइएको छ । साथै सोही अवसरमा प्रहरी दिवस समेत मनाइएको सेवा केन्द्रका महासचिव बुढाथोकीको भनाई छ ।