ब्रेनट्युमर ग्रसित दग्नामकी करुणाको बचाउ अभियान सुरु

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी १५ वर्षीया किशोरी अरुणा गर्बुजाको उपचारका लागि आर्थिक सङ्कलन अभियान सुरु भएको छ । ब्रेनट्युमरबाट ग्रसित उनको उपचार गर्न आइतबार बेनीमा ओमकुमारी शान्ति कोषको आयोजनामा सहयोग सङ्कलन समिति गठन गरी अभियान सञ्चालन गरिएको हो ।

देवेन्द्र फगामी संयोजक रहेको समितिमा कुमार तिलिजा, सुशील गर्बुजा, देवेन्द्र गर्बुजा, विनोद शेरपुञ्जा, खिम गर्बुजा, मनबहादुर पुन, यमन गर्बुजा, ओमबहादुर गर्बुजा, नरदेवी गर्बुजा, देव पुन र मन गर्बुजा रहेका छन् । कार्यक्रमको अवसरमा अरुणा बचाउ अभियानमा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर र संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले क्रमशः पाँचपाँच हजार रुपैयाँका दरले सहयोगको घोषणा गरेका थिए।

पारिवारीक रुपमा आर्थिक अवस्था कमजोर रहेको गर्बुजाको परिवारले सहयोगको अपिल गरेका हुन् । करुणाको गएको साउन महिनादेखि काठमाडौं क्यान्सर हस्पिटल सेन्टरमा उपचार सुरु गरिएको छ भने उपचारका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने डाक्टरहरुले बताएको परिवारले जनाएको छ । उनको रेडियोथेरापीबाट उपचार गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

कार्यक्रममा सहयोग समितिको घोषणा गर्दै शान्ति कोषका अध्यक्ष राजेश शाक्यले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर संस्थालाई अगाडि बढाइएको बताए । उनका अनुसार हालसम्म शान्ति कोषमार्फत ४० जनाको सफल उपचार गरिएको छ । शान्ति कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सहसचिव विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा दग्नाम समाज बहराईनका पूर्वअध्यक्ष ताराबहादुर तिलिजाले मन्तव्य राखेका थिए ।