म्याग्दी प्रहरीले दिपावलीको पूर्वसन्ध्यामा जिल्लाका बेनीबजारमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकालाई धरौटीमा छोडेको छ । बेनीबजारमा चाडपर्व लक्षित योजना अन्र्तरगत प्रहरीले लागु गरेको सुरक्षा योजना अन्र्तरगत पिपलचोकस्थित दिपशिखा होटलका सञ्चालक लेखनाथ पौडेलको होटलमा जुवा खेलीरहेका आवश्यक कानुनी प्रक्रिया पुरा गरी छोडिएको प्रहरीले जनाएको छ ।

शनिबारको दिन साथीको होटलमा रमाइलोको रुपमा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको पक्राउ परेकाले प्रतिक्रिया दिएका छन् ।  ‘हामी पेशेवर पनि होईनौ, सधै मिल्ने साथीकोमा बसेर हेरेकाहरु समेत परे’ धरौटीमा छुटेपछि एकजनाले प्रतिक्रिया दिए । चाडपर्वमा रमाईलोका रुपमा खेलिने तासलाई पेशेवर भन्न नहुने समेत धरौटीमा छुटेका यूवाहरुको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएका यूवाहरुबाट करिव २४ सय रुपैयाँ फेला परेको थियो ।

जिल्लामा हाइ प्रोफाइल भएका व्यक्तिहरु पक्राउ परेको बताइएपनि नाम सार्वजनिक गरिएको थिएन् । बेनीबजारमा चाडपर्वमा लाखसम्मको खाल जम्छ भन्ने हल्ला सुनेपछि प्रहरीले निगरानी बढाएको जनाएको छ । ‘दिपावलीको बेला हुनसक्ने जुवातास र त्यसबाट हुनसक्ने संभावित दुर्घटनासँग हामी सचेत छौँ । जुवातास नियन्त्रण गर्नु नै यो बेलाको मूख्य चुनौती हो’ प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले भनिन् ।

उनले जुवातासका अखडाको बारेमा जानकारी आफुँलाई दिन समेत अनुरोध गरिन् । बेनीमा कौडा र गोटीको प्रयोग गरी समेत खेल्ने गरिएको सुचना प्रहरीले पाएको छ । प्रहरी स्रोतका अनुसार विगतमा जुवातास अन्र्तरगत धरौटीमा छोडिएकाहरुलाई समेत निगरानीमा राखिएको छ । जुवातासलाई सामाजिक अपराध भएकाले पनि प्रहरीले गुनासो आएको बेनीबजार तथा आसपासका क्षेत्रमा साधा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । ‘ठाउँ परिवर्तन भएको देखिन्छ, नयाँ अखडा भनिएका क्षेत्रमा २४ घण्टा निगरानी बढाइरहेका छौ’ एक प्रहरी अधिकारीले भने । जुवा ऐनमा जुवातासलाई बर्गिकरण गरिएको छैन् ।

निर्वाचन केन्द्रित सुरक्षा योजना लागु भइसकेको अवस्थामा प्रहरीले सदरमुकाम बाहिर तथा ग्रामिण क्षेत्रमा समेत सुरक्षा ब्यवस्था कडा गरेको छ । प्रहरीले केही महिना अगाडी समेत गोटीको प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा बैङ्करोड नजिकबाट तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा जुवाघरकी सञ्चालिका पार्वती पुन सहित ८ जनालाई पक्राउ गरेको थियो ।

जुवाघरमा प्रहरीले छापा मारेपछि भाग्न खोजेकालाई समेत नियन्त्रणमा लिएको थियो । बजारमा चाडपर्व सहित अन्य समयमा समेत जुवातास खेलाउने ठाउँको गुनासोको आधारमा प्रहरीले निगरानी बढाइरहेको छ । बेनीबजारको कालिपुल, क्याम्पसचोक, न्यूरोड, ब्याङ्ग रोड लगाएत बजारका विभिन्न घरमा जुवा खेलाइरहेको सुचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको छ ।