घना वनजङ्गलको बिच भाग । केही मानववस्ती रहेको ठाउँ र लोभलाग्दो दृश्य । निक्कै आकर्षक, सुन्दर अनि मनमोहक देखिने बराहताल पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको आँखै अगाडि सेताम्मे हिमालहरुको लस्कर देखिने निस्कोटको बराहतालले पर्यटकहरुलाई पर्खिरहेको छ । 

पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा अवस्थित बराहताल वर्षौंदेखि पर्यटकको पर्खाइमा रहेको हो । साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने गाउँको शिरमा अवस्थित बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा समेत रहेको छ ।

झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइको बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छ । त्यहाँबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जनबढी हिमाल र दृष्यहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । 

बराहतालमा वनजङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक लाग्छ । हिमालको वरिपरी लुकामारी खेलिरहने बादलुको घुम्टोले अझै सुन्दरता थपिरहेको हुन्छ । पहाड र आकास जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृष्यले सबैलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्न भनेर त्यहाँ पुग्ने गरेका छन् । तालको छेउछाउमा पुगेर ताल र हिमालहरु हेर्दा थकानको विश्रामको अनुभूति हुन्छ । 

गाउँबाट करिब आधा घण्टाको दुरीमा रहेको ताल स्थानीयका अनुसार झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको बताइएको छ । वनजङ्गलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पातपतिङ्गरहरु नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने गरेको तालको विशेषता रहेको छ ।

छिमेकी जिल्ला बागलुङको ताराखोला धुरी जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको बराहतालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाई छ । तालनजिकै एउटा तामाको घैंटो (चिन्नो) समेत रहेको छ । स्थानीयका अनुसार उक्त घैंटो राणाशासनकालमा लुकाइएको हुँदा पछि ढुङ्गा फुटाउँदा भेटिएकोले संरक्षण गरी राखिएको छ । 

यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी जिल्लाको सिमानामा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ । यसैगरी चालु आर्थिक वर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायतका शीर्षकमा पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताउनुभयो । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा सयौंको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु भिœयाउन सकिने उहाँले बताउनुभयो । 

बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको दीगो विकास गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले बताउनुभयो । उहाँका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । गाउँको शिरबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने वडा सदस्य पुन बताउनुहुन्छ ।