म्यादी प्रहरीमा भर्ना हुन म्याग्दीमा युवायुवतीहरुको आकर्षण ह्वात्तै बढेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको माग गरेपछि युवादेखि अधबैंसे उमेरसम्मका नागरिकको जिल्ला प्रहरी कार्यालयमा भीड लागेको हो ।

सरकारले प्रदेश र केन्द्रीय संघको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेपछि म्याग्दीमा १ हजार ३३ जनाले फाराम भरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अवकाश प्राप्त भूतपूर्व सैनिक, पूर्व म्यादी प्रहरी, कलेज उमेरका युवायुवतीले आवेदन दिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताइन्।

२०२० साल ६ महिना २० गतेदेखि २०५६ साल ६ महिना ३० गतेसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको व्यक्तिलाई म्यादी प्रहरी भर्नाका लागि उमेर हदबन्दी तोकिएको उनले जानकारी दिएकी छिन् । म्यादी प्रहरी भर्नामा प्लस टु उत्तीर्ण, विदेशबाट फर्किएका युवा र अन्य क्षेत्रमा संलग्नलगायत समेत रहेका छन् । म्यादी प्रहरी भर्ना भएकाहरुको प्रहरीको केन्द्रबाट निर्देशन आएपछि म्यादी प्रहरी भर्ना छनोट प्रक्रिया सुरु हुने प्रनाउ खड्काको भनाई छ ।

म्यादी प्रहरी भर्नाका लागि कुनै फौजदारी अभियोग नलागेको व्यक्ति, साधारण लेखपढ गर्न सक्ने र नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको थियो । युवाहरुले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणका साथै भुपु आर्मी, प्रहरीले सेवानिवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस गरी फारम भरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । म्यादी प्रहरी हुनलाई युवाहरुको उत्साहजनक सहभागिता रहेको छ भने महिलाको पनि लर्को लागेको छ ।

म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा पाउने र ५५ दिनको सेवा अवधि रहेको प्रनाउ खड्काले बताइन् । उता फाराम भरेका युवाहरुले भने दुई महिनासम्म घरमा त्यत्तिकै बस्नुभन्दा अनुभव समेत हुने र कमाई पनि राम्रै हुनेहुँदा आफुहरुले दरखास्त दिएको बताएका छन् ।

स्वदेशमा रोजगारको अवसर कम भएका कारणले गर्दा तोकिएको सङ्ख्याभन्दा धेरै निवेदन पर्न गएको बताइएको छ । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सरकारले ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । यसपाली भने त्यो सङ्ख्या बढाएर देशभर ९८ हजार म्यादी प्रहरीको दरखास्त माग गरिएको छ । म्याग्दीको गत स्थानीय तहको निर्वाचनमा ४१८ जना म्यादी प्रहरी छनोट गरिएको थियो । तस्विर हरिकृष्ण गौतम