मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ ।अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा हरिप्रसाद पौडेल, सन्तोष ढुङ््गाना, निरमाया मिजार, भिमकुमारी बानिया (लक्ष्मी), शिव पौडेल, बिनोदकुमार श्रेष्ठ र नवराज रिजाल रहनुभएको छ । कार्यसमितिको पहिलो बैठकले थप ३ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै ज्येष्ठनागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले मानव अधिकारको रक्षा, शान्ति तथा सुव्यवस्था र हिंसाको अन्त्यका लागि नागरीक समाजको सक्रियता आवश्यक रहेको बताउनुभयो । समाजका उपसभापति रामजीप्रसाद सुवेदीले शान्ति समाजले समय आन्दोलन, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता प्रर्वद्धनलाई प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा शाखाका सल्लाहकार सञ्जयकुमार श्रेष्ठ, अमृतदेवी बानिया, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी जेसीजका अध्यक्ष नारायणकुमार बराल, नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव कमल खत्री र महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मीले मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुबीचको सहकार्यमा जोड दिनुभयो ।

साधारणसभाले सचिव सन्तोष गौतमले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्षको तर्फबाट सहसचिव मुकुन्दप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । समाजका शाखा सभापती मुक्तिप्रसाद ढुङगानाको अध्यक्षता, उपसभापती ठाकुरप्रसाद शर्माको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य सन्तोष ढुङ्गानाले २० बुँदे अवधारणापत्र तथा शिवप्रसाद सुवेदीले शान्ति समाजको नीतिका विषयमा जानकारी गराउनुभएको थियो ।