मिलन म्याग्दीको मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले विनय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा शिव बानियाँ, सचिवमा कमला बानियाँ थापा, कोषाध्यक्षमा दिलमाया बिटालु र सहसचिवमा तिलकुमारी राना रहेका छन् । यसैगरी सदस्यहरुमा अमर बानियाँ, खसिला गुरुङ, ज्ञानु बानियाँ केसी र सुमित्रा गैरे पौडेल रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले जिल्ला समन्वय समितिमा जिल्लाका विभिन्न दुरदराजका गाउँबाट झोलुङ्गे पुलको माग भई आएको हुँदा मिलनसँग आवश्यक सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने बताए । उनले जिल्लाको विकास निर्माणका लागि जिल्ला समन्वय समितिले आवश्यक समवन्य र सहयोगमार्फत वातावरण सिर्जना गर्ने बताएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य दिवाकुमारी पुनले राज्य नपुगेका ठाउँमा गैरसरकारी संस्थाहरु पुगेर दुर्गममा सेवा प्रवाह गरिरहेको बताइन् । गैसस महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले बदलिँदो परिस्थितिमा गैससहरुले आफ्नो जिम्मेवार भूमिका निभाउनुपर्ने भन्दै नीतिमा स्पष्टता नहुँदा काम गर्न समस्या भएको बताएका थिए ।

कार्यक्रमको अवसरमा मिलन म्याग्दीले संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीहरु चुमाया थजाली, सुजता केसी, रामबहादुर खड्का, टकमाया थजाली, रतिका मिजार, विष्णु पन्त, चन्द्रावती खत्री र लक्ष्मी बानियाँलाई सम्मानपत्रसहित सम्मान गरेको छ । अधिवेशनको उद्घाटनसत्रमा संस्थाका सचिव शिव बानियाँले प्रगति र कोषाध्यक्ष कमला बानियाँ थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदी, सुआहारा कार्यक्रमका संयोजक कामना प्रधान र सम्मानित व्यक्तित्व चुमाया थजालीले मन्तव्य राखेका थिए । मिलन म्याग्दीका निवर्तमान कार्यवाहक अध्यक्ष विनय श्रेष्ठको अध्यक्षता र सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य अमर बानियाँले स्वागत गरेका थिए ।