बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामाबिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा विश्वमा नै संकटापन्न र नेपालका लागि दुर्लभ मानिने चिरकालिज वासस्थान र  उचित वातावरणका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँहरुमा पुगेर गरेको अध्ययन÷अनुसन्धानबाट म्याग्दीमा ५० देखि ६० वटासम्म मात्र चिरकालिज रहेका खुल्न आएको हो । चोखालले म्याग्दीमा चिरकालिजको अवस्था,वासस्थान,अवस्था,शङ्ख्या र लोप हुनुका कारणहरुको विषयमा लामो अनुसन्धान गर्नुभएको हो ।

‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन,नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु नामले चिन्ने गरिन्छ ।नेपाल प्रकृति संरक्षण कोष,साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगाएतका संस्थाहरुको सहयोगमा चोखालले यो पंक्षीको अवस्थाका वारेमा अनुसन्धान गर्नुभएको हो । साइटिस घोषणापत्र र, आइयुसियन अन्तराष्टिय संस्थाको  ‘आइ’ सुचिमा राखिएको यो पंक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पंक्षीको सूचिमा सुचिकृत गरिएको  छ । नेपालमा यो पंक्षी समुद्री सतहबाट १४ सय मिटरदेखि ३६ सय मिटरसम्मको भूभागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो ।

कालीगण्डीकीको पश्चिम क्षेत्रमा पाइएको र नेपालमा करिव एक हजारको संख्यामा रहेको यो पंक्षी म्याग्दीमा मात्रै  ५० देखि ६० वटा रहेको अनुसन्धानकर्ता चोखालले बताउनुभएको छ ।  यो विश्वमा नेपाल,भारत र पाकिस्तानमा मात्रै पाइने चरा भएको उहाँले जानकारी दिनुभयो । झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि काजिल र यसमा धेरै भिन्नता रहेको अनुसन्धानकर्ता चोखलले बताउनुभयो । उहाँका अनुसार यसको भालेको पुच्छर लामो हुन्छ, आँखामा रातो रङ हुन्छ , शरीरमा सेतो थोप्लामा कालो बुट्टा रहेको हुन्छ । आकारमा  पोथी, भाले भन्दा सानो हुन्छ र पोथीको पुच्छर छोंटो हुन्छ ।

यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै अण्डा पार्ने र वच्चा कोरल्ने गरेको तथ्य पत्ता लागेको चोखालले बताउनुभयो । विहान सुर्योदय हुनुभन्दा  अगाडीे र साँझमा सुर्यास्त भएपछि दिनको दुईपटक मात्र  चिरचिर गरेर  कराउने चिरकालिजको  मुख्य विशेषता हो ।चोखालका अनुसार यो पंक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर,खरवारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । यसले भिरमा नै वच्चा कोरल्ने,भिरमा नै वच्चा हुर्काउने गर्दछ ।

यसले एक पटकमा  ७ देखि १५ वटासम्म अण्डा पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र,ढोरपाटन शिकार आरक्ष र रारा राष्टिय निकुन्जमा रहेको विभिन्न अनुसन्धानबाट खुल्न आएको चोखालले जानकारी दिनुभयो । संरक्षित क्षेत्रभन्दा वाहिर विशेषगरी म्याग्दी,वागलुङ र मध्य तथा सुदूर पश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ । म्याग्दी जिल्लामा यो पंक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको  तटीय क्षेत्रहरुमा पाइएको चोखालले बताउनुभयो ।अवैध चोरी शिकारी,आगोलागि,वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पंक्षी लोपोन्मुख अवस्थामा पुगेको चोखालको भनाइरहेको छ  ।

चोखालका अनुसार समुदायबीच सचेतना कार्यक्रम,चोरी शिकारी नियन्त्रण,वासस्थानको संरक्षण तथा वासस्थानविचको बाटो  निर्माण तथा थप अनुसन्धान गर्नेहो भने यो पंक्षीको संरक्षण गर्न सकिन्छ । चोखालका अनुसार पर्यापर्यटनको विकास जैविक विविधताको  संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तु संरक्षणका लागि पनि चिर कालीजको संरक्षण गर्नु आवश्यक छ । धु्रबसागर शर्मा