राउण्ड धौलागिरि फन्को मार्ने विदेशी बढे

0

विश्व प्रसिद्ध पदमार्ग राउण्ड धौलागिरीमा आन्तरीक तथा वाह््य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका मुदीमा अवस्थित हिमालको आरोहण तथा भ्रमणमा दैनिक ३÷५ वटा पर्यटक समुह सो क्षेत्रको भ्रमणमा जाने गरेको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी नायव निरिक्षक दयाराम पौडेलले बताए ।

‘आन्तरिक भन्दा विदेशी पर्यटक नै धेरै जान्छन् । लामो पदयात्रामा निस्कने पर्यटकको रोजाईमा परेको देखिन्छ’ पौडेलले बेनीअनलाइनलाई भने । असोज महिनामा १ सय १२ जना विदेशी पर्यटक धौलागिरि आधार क्षेत्रतर्फ लागेको उनले बताए । जिल्लाको सदरमुकाम बेनी हुदै सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, मुदी र दरवाङ, बिम, खिवाङ, बगर हुदै धौलागिरि बेसक्याम जाने गरेका छन्।

म्याग्दी हुदै गएका अधिकांस विदेशी पर्यटक धौलागिरि पदयात्रा पुरा गरी मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन, डोल्पाजाने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । यात्रामा निस्किएका पर्यटकको नियमित जानकारी लिने, समस्यामा परेका पर्यटकलाई उद्धारका लागि स्थानीय पर्यटन ब्यवसायीसंग समेत सहकार्य गर्ने गरिएको छ । पदमार्गमा पूर्वाधार विस्तार, अस्थायी संरचना, पदमार्ग मर्मत गरिएपनि राउण्ड धौलागिरिमा यात्रा जोखिमपूर्ण मानिन्छ । राउण्ड धौलागिरि पदयात्रा महंगो समेत मानिन्छ ।

राउण्ड धवलागिरि जैविक, सांस्कृतिक विविधता, हिमश्रृङ्खलाको अवलोकन, जनजातीको संस्कार र टे«किङका साथै ग्रामिण जनजिवन, आदीवासी मगर, छन्त्याल जातीको रहनसहन, पंक्षी, जंगली जनावर,तालतलैया, छहरा आदीको दृष्याअवलोकनका साथै धौलागिरी हिमाल आरोहण गर्न पाउनु पर्यटकका मुख्य आकर्षण हुन । पदयात्राको क्रममा विभिन्न बस्तीमा स्थानीयको स्वागत तथा सहयोगले समेत पर्यटकलाई उत्साहित बनाउने गरेको छ ।

जोखिमपूर्ण मार्गमा स्थानीयबासीले समेत यात्रामा सहयोग गर्ने गरेका छन् ।धौलागिरि गाउँपालिकाले पदमार्गलाई ब्यवस्थित बनाउन आवश्यक पहल समेत गरिरहेको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताए । ‘विश्वकै उत्कृष्ट पदमार्ग भएकाले धेरै पर्यटक ल्याउन पूर्वाधार पहिलो प्राथमिकता हो । पर्यटकले स्थानीयको आयआर्जनमा समेत सघाइरहेको छ’ छन्त्यालले भने । विश्वकै पाँचौ अग्लो चुचुरो भएकाले पनि हिमाल आरोहणमा लागि आउने विदेशी पर्यटकले स्थानीय मजदुरको समेत प्रयोग गर्ने गरेका छन् ।

धौलागिरि आधार क्षेत्रमा आएका पर्यटकको १७ देखी २२ दिनसम्मको यात्रा हुने गरेको छ । पदयात्रामा आउनेमा अधिकांस जर्मन, फ्रान्स र क्यानडाका रहेका छन्। सरद र बसन्त ऋतुमा धौलागिरिको आरोहण गर्ने गरिएको छ । विश्वभरका पर्यटकहरुको रोजाईमा पर्ने भएपनि पदयात्राको क्रममा आवतजावतमा देखिएको समस्याका कारण अपेक्षा गरे अनुसारको पर्यटक आगमन हुन नसकेको पर्यटन ब्यवसायीको भनाई छ । यसैविच हवाईमार्गबाट समेत आधार क्षेत्रमा पुग्ने गरिन्छ ।

लामो यात्रा गर्न नसक्ने र छोटो समयमा लागि जिल्लामा आएका पर्यटकहरुले हेलिकप्टर चार्टर गरेर समेत धौलागिरिमा पुग्ने गर्दछन् । हिमाल आरोहणका लागि पुगेका पर्यटक हिमपहिरोमा परेर ज्यान समेत गुमाउने गरेका छन् । राउण्ड धौलागिरीमा मंसिर महिना देखी फागुनसम्म सुनसान हुने भएपनि अन्य महिना पर्यटकको चहलपहल हुने गरेको छ । बर्षेनी करिव १० हजारको हाराहारीमा विदेशी पर्यटक धौलागिरि हिमालको फन्को मार्ने गरेका छन् ।