विदेशबाट फर्किएका यूवाहरू म्यादीमा

0

बेनी नगरपालिका–५ का चन्द्र बहादुर बानियाँ तीनमहिना अगाडी कतारबाट फर्किए । रोजगारको सिलसिलामा कतार पुगेका बानियाँले दलालले भनेजस्तो कम्पनीमा कमाई नभएपछि घर फर्किए ।

घरायसी काममा ब्यस्त रहेका उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको जानकारी पाएपछि आवेदन दिएका छन्। बानियाँ जस्तै बागलुङका कमल नेपाली दुवईबाट चारमहिनाको छुट्टीमा घरविदामा आएको मौका छोपी म्यादी प्रहरीमा आवेदन दिए ।लामो घरविदालाई सदुपयोग गदैं परिवारको खर्च जुटाउन साथीहरू संगै म्यादीमा काम गर्ने योजना बनाएको नेपालीले बताए । बानियाँ र नेपाली प्रतिनिधिमुलक पात्र हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा म्यादीमा आवेदन दिएका १ हजार ३२ जनामा खाडी मुलुकबाट घर विदामा आएका, विदेशमा कमाई नभएपछि दुतावासको सहयोगमा फर्किएका यूवाहरूका साथै घरगृहणी, ज्यालामजदुर गर्ने, ग्रामिण क्षेत्रमा ब्यवसाय गर्ने, क्याम्पसमा अध्ययरत विद्यार्थीको संख्या अत्याधिक रहेको छ ।‘म्यादीको जिम्मेबारीबाट मतदातालाई सेवा दिन चाहन्छु । निर्वाचनका बेलामा देशका लागि सेवा गर्न पाउँनुपनि ठुलो अवसर हो’ बेनपा–४ तातोपानीकी मिना पुनले भनिन् । उनले म्यादीमा भर्ना हुदाँ आर्थिक लाभसंगै दैनिक शाररीक अभ्यास, सुरक्षा सम्बन्धि विभिन्न तालिम लगाएत विभिन्न विषयमा जानकारी हुने बताईन् ।

उनले सामाजिक रुपमा कर्तब्य बोध समेत हुने भएकाले होटल ब्यवसायलाई समेत छोडेर म्यादीमा भर्ना हुन आएको बताईन् । म्यादीका साथै बागलुङ, पर्वत लगाएत देशका विभिन्न जिल्लाबाट निवेदन दिन आएका अधिकांस यूवा–यूवतीहरू छन् । बेरोजगारी, पकेट खर्चका लागि समेत घर परिवारमा निर्भर रहेकाले म्यादीको तलबसुविधाबाट आर्कषित भएको बताउँछन् ।‘छोटो समयमा राम्रो कमाई हुन्छ । म्यादीको अनुभवले विदेशमा समेत काम गर्न सहज हुन्छ’ उनले भने । विगतमा निर्वाचनमा म्यादीको अनुभव लिएकाहरूले खाडी मुलुकमा सुरक्षा गार्डका साथै विभिन्न कम्पनीमा सहजै काम पाएकाले पनि म्यादीबाट भविस्यमा समेत रोजगारीको खोजीमा सहज हुने बताए । पहिलो र दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा म्याद भएकाले समेत निवेदन दिएका छन् ।

अनुभवीलाई प्राथमिकता दिने भएकाले पनि दुईपटक म्यादीको जिम्मेबारी सम्हालेकाले समेत आवेदन दिएपछि पहिलोपटक आएकाहरूले लिखित तथा अन्र्तरवार्तामा छनौटमा समस्या हुने भन्दै चिन्ता समेत ब्यक्त गरेका छन् । एक सातादेखि जिल्ला प्रहरी कार्यालयमा भर्नाका लागि दैनिक घुईचो हुने गरेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् । ‘आवश्यकता भन्दा दोब्वर धेरै आवेदन आएको छ । धेरैबाट छनौट गर्न पनि सजिलो हुन्छ’ खड्काले भनिन् । उनले आवेदन दिइएपनि लिखित र मौखिक परिक्षाका बारेमा सुचना प्राप्त नभएको बताईन् ।

उनले भविस्यमा नेपालका सुरक्षा निकाय, भारतीय प्रहरीका साथै विभिन्न देशमा सुरक्षाको क्षेत्रमा समेत म्यादीमा सहभागि भएकाहरुको प्रमाणपत्रलाई अनुभवका रुपमा प्रयोग गर्ने गरिएकाले म्यादीमा आर्कषण बढेको बताईन् । म्याग्दीमा छनौट भएका म्यादीलाई छिमेकी जिल्ला मुस्ताङमा समेत खटाउने गरिन्छ । मुस्ताङमा माग भन्दा निकै कम म्यादीले आवेदन दिने भएकाले पनि दुई जिल्लाले समन्वय गरी परिचालन गरिने प्रनाउ खड्काको भनाई छ । प्रहरी र शसस्त्र प्रहरी, सरकारी कार्यालयका कर्मचारी र शिक्षकसंग समन्वय गरी काम गर्दा क्षमता विकास समेत हुने उनले बताईन् ।

गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ४ सय १८ जना म्यादी प्रहरीहरु छनोट गरिएको थियो । म्यादीमा पुरुषको तुलनामा महिलाको संख्या कम भएपनि आवेदन दिने क्रममा महिलाहरुको उपस्थिती अत्याधिक हुन्छ। सामान्य, संवेदनशील र अतिसंवेदनशील निर्वाचनस्थलमा क्रमशः ४, ५ र ६ जनाका दरले म्यादी प्रहरी खटाइन्छ ।

म्यादी प्रहरीमा भर्ना भएकालाई विभिन्न समूहमा बाँडेर सैद्धान्तिक र प्रयोगात्मक तालिम सञ्चालन समेत गर्ने गरिन्छ। तालिममा निर्वाचन आचारसंहिता, लाठीको प्रयोग, व्यवहार प्रदर्शन तथा आचरण, आफ्नो र मतदाताको सुरक्षालगायतका विषयमा सहजीकरण गरिएपछि मात्रै कार्यक्षेत्रमा खटाईन्छ । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसहित चारवटै सुरक्षा निकायले म्यादी प्रहरीलाई साथमा लिएर चुनावलाई भयरहित, शान्त बनाई सफलतापूर्वक सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।