म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई म्याग्दी उद्धार समिति बहराईनबाट १२ लाख ३ हजार २० हस्तान्तरण भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय रहेको कोषको १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्ने अभियान अन्र्तरगत बहराईनमा रहेका म्याग्देलीको प्रयासमा सङ्कलन भएको आर्थिक हस्तान्तरण गरिएको हो ।

एनआरएनए बहराईनका अध्यक्ष एवम् म्याग्दी उद्धार समितिका सल्लाहकार लाल प्रसाद पुनले बुधबार एक कार्यक्रमका विच कोषका अध्यक्ष राजेश शाक्यलाई सहयोग उपलब्ध गराएका हुन् । समितिले बहराईनमा आयोजित कार्यक्रममा अक्षय कोषमा १७ लाख ९३ हजार ३२० आर्थिक जुटाएका थिए ।हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए बहराईनका अध्यक्ष पुनले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा कोष मार्फत भइरहेको अभियानले मानवीय धर्म पुरा गरेको बताए ।

‘धेरैजनाको ज्यान जोगाउन सफल कोषका अभियानमा आगामी दिनमा पनि साथ दिनेछौ ।पैसाको अभावमा मृत्यु रोज्नुपर्ने अवस्थाको अन्त्य गर्न खेल्नुभएको भूमिकालाई हामी सधै सम्मान गर्दछौ’ पुनले भने । उनले समितिले बहराईनमा संकलन गरेको आर्थिकबाट त्यहाँ रहेका नेपाली संघसंस्था समेत चकित परेको बताए । उनले आफ्नो पूर्वघोषित सहयोगमा थप गरी ५० हजार कोषलाई उपलब्ध समेत गराएका छन् । सोही अवसरमा समितिका पूर्व महासचिव एवम् बेनपा ९ का वडा अध्यक्ष भेष बहादुर सेनले बहराईनबाट विगतमा पनि जिल्लामा विभिन्न सहयोगहरु उपलब्ध गराइएको बताए ।

उनले म्याग्दी अस्पताल, म्याग्दी बहुमुखी क्याम्पसका लागि अन्य सामजिक कार्यमा समेत बहराईनमा रहेका म्याग्देलीले सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष राजेश शाक्य, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गरेका थिए । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा, हड्डी खिजिएको लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । भूकम्पमा उद्धार तथा राहत वितरणमा धौलागिरि अञ्चलकै सक्रिय संस्थाको रुपमा समेत परिचय स्थापित गरेको थियो । कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।

संस्थाबाट हालसम्म संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ । संस्थाका संस्थापक र अध्यक्षले हरेक विरामीलाई ब्यक्तिगत रुपमा ५ हजार देखी माथि सहयोग गदैं आइरहेका छन भने संस्थागत गतिविधिका हरेक खर्च समेत ब्यक्तिगत ब्यर्होर्ने गरेका छन् । कोष मार्फत हालसम्म ४० जना विरामीको उपचार भएको छ ।