अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भिमप्रसाद तिलिजा पुन सम्मानित भएका छन् । नेपालको पशुपन्छी विकासको क्षेत्रमा दुर्गम क्षेत्रमा बसेर पु¥याएको योगदानको उच्च मुल्याङ्कन गदैं तेस्रो पशुसेवा विभाग स्थापनाको अवसरमा तिलिजालाई कदर–पत्रले सम्मान गरिएको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पाउद्धारका अगुवा समेत मानिने तिलिजालाई संयुक्त चौरीपालनको क्षेत्रमा सक्रिय रहेवापत पशुसेवा विभागका महानिर्देशक डा. बिमल कुमार निर्मल र सचिव यूवकध्वज जिसीले दिवसको अवसरमा सम्मान गरेको तिजिलाले बताए । ‘चौरीपालनबाट विभाग उत्साहित देखिएको छ, सम्मानले आगामी दिनमा पनि काम गर्ने हौसला मिलेको छ’ तिलिजाले बेनीअनलाइनलाई भने ।

पाउद्धार माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, खोप्रा सामुदायिक लज, खयरबराही मन्दिर लगाएत गाउँका विभिन्न संघसंस्थामा सक्रिय रहेका तिजिलाले खोप्रा र खयरक्षेत्रमा रहेका चौरीको रेखदेख तथा आवश्यकता अनुसारका सुरक्षाका साम्रागीहरु समेत पठाउने गरेका छन् ।

२०५३ सालमा मुस्ताङबाट राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् नेपाली बैज्ञानिक महावीर पुनको सक्रियतामा २८ वटा चौरी ल्याएर सुरु गरिएको चौरीपालनको सुरुवात देखि तिजिलाले नेतृत्वदायी भूमिका समेत खेलेका छन् । मुस्ताङबाट ल्याएको चौरी मर्न थालेपछि २०५८ सालमा मनाङबाट पाउद्धार मावि र हिमाञ्जल माविको लगानीमा ३६ वटा थप चौरी ल्याइएको थियो ।

दुवै विद्यालयको आर्थिक स्रोतको रुपमा चौरीपालन गरिएको हो । अहिले खोप्रामा करिव १ सय ६५ वटा चौरी रहेका छन् । बर्षेनी दुईपटक चौरीको आलो रगत पिउने मेलाका साथै मासु समेत विक्री गर्ने गरिन्छ । जिल्ला पशुसेवा कार्यालयले समेत विगतमा चौरीपालनका लागि सहयोगका साथै जिल्लाको पशुपालनमा सफल ब्यवसायका रुपमा प्रचारप्रसार गर्ने गरेको थियो । हिमाली जिल्लामा पालन हुने चौरी म्याग्दीको हिमाली क्षेत्र मध्ये खोप्रामा मात्रै रहेका छन् ।