नेकपा एमाले र माआवादी केन्द्रले ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएका छन् । म्याग्दी सहित धौलागिरि अञ्चलको बागलुङ र मुस्ताङ समेत पहिलो चरणमा बाँडफाँटमा परेका छन् । ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट मा म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमाले, प्रदेश सभा अन्र्तरगत क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई परेको छ ।

प्रतिनिधि सभा एक क्षेत्र रहेको म्याग्दी जिल्लामा हिजोसम्म माओवादीको कोटमा परेको बताउँदै आइरहेको भएपनि कार्यदलको अन्तिम निर्णयमा नेकपा एमालेलाई परेपछि जिल्लामा उम्मेदवारको चर्चा समेत सुरु भएको छ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा आफ्नो अडान राखिरहेको थियो भने माओवादीले जनयूद्धको प्रभावित जिल्ला भएकाले पनि प्रतिनिधिसभाको सिट आफ्नो पक्षमा आउनुपर्ने बताइरहेको थियो ।

सिट बाँडफाँड संगै म्याग्दी जिल्लामा उम्मेदवारको उम्मेदवार समेत दुईदिन भित्र टुंगो लाग्ने भएको छ । प्रदेश सभामा क्षेत्र नम्बर १ मा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाँउपालिका रहेका छन् भने क्षेत्र नम्बर २ मा मंगला, मालिका र धौलागिरि गाउँपालिका पर्छन् । माओवादी म्याग्दीले प्रदेशसभाका लागि आफ्नो उम्मेदवारीका बारेमा सर्वसम्मतिले जिल्लाबाट टुंगो लगाउने जनाएको छ ।

त्यस्तै एमालेबाट क्षेत्र नम्बर २ मा निर्वतमान सांसद एवम् पुर्वराज्यमन्त्री नरदेवी पुनको नाम करिव टुंगो लागेको अनुमान गरिएको छ । माओवादीले समेत रोजेको क्षेत्र नम्बर २ एमालेले आफ्नो पक्षमा राख्नुले पनि पुन कै उम्मेदवारी आउने एमालेका एक जिल्ला नेताले बेनीअनलाइनलाई बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग निकट सम्बन्ध रहेकाले पनि जिल्लामा प्रतिनिधिसभामा समेत ओलीको पक्ष हावी हुन सक्ने सम्भावना छ ।

प्रतिनिधि सभामा पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र बैकल्पिक केन्द्रिय सदस्य एवम् एमालेका धौलागिरि अञ्चलमा प्रशावशाली नेता मानिने भुपेन्द्र बहादुर थापा मध्ये एक जना उम्मेदवार बन्नेछन् ।७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ ।प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।चुनाबी तालमेलमा ६०र४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ ।